जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार १२:०८

सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गर्‍यो : एमाले 


काठमाडौं, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले उचित तयारी र भरपर्दो व्यवस्थाविना सुकुम्बासीको बासस्थान भत्काएर सरकारले गैरजिम्मेवार र अमानवीय व्यवहार देखाएको आरोप लगाउनुभयो।उहाँले घर भत्काइएका परिवारलाई तीन महिनाका लागि १५ हजार रुपैयाँ दिने निर्णयलाई ‘भद्दा मजाक’ को संज्ञा दिनुभयो।

‘पाँच जनासम्मको परिवारलाई जेठ, असार र साउन तीन महिनाका लागि १५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ। यस हिसाबले एउटा परिवारलाई दिनको १०० रुपैयाँ मात्रै पर्छ। १०० रुपैयाँले एक परिवारलाई एक दिन कसरी पुग्छ ?’ उहाँले प्रश्न गर्नुभयो।

बरालले बसिरहेको स्थानबाट हटाइएपछि स्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा सरकारले अस्थायी बसोबासका लागि २५ हजार रुपैयाँ दिने निर्णय गर्नु झन् अमानवीय भएको टिप्पणी गर्नुभयो। ‘सरकारले विना तयारी भरपर्दो व्यवस्था नगरी सुकुम्बासीलाई बसिरहेको ठाउँबाट बाहिर निकालेको छ,’ उहाँले भन्नुभयो।

उहाँले होल्डिङ सेन्टरमा सुकुम्बासीलाई अत्यन्त अमानवीय ढंगले राखिएको आरोपसमेत लगाउनुभयो। एउटै परिवारका सदस्यलाई सँगै बस्न पाउने अधिकारसमेत खोसिएको उहाँको भनाइ थियो।

बरालका अनुसार यस्तो अवस्थाले सुत्केरी महिला र बालबालिका कुपोषणको जोखिममा परेका छन् भने युवाहरू मानसिक तनावमा छन्। साथै धेरै बालबालिका विद्यालय जानबाट वञ्चित भएको उहाँले संसदमा जानकारी गराउनुभयो।