जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार १३:२७

प्रेस स्वतन्त्रतामा सरकार प्रतिबद्ध छ, तर स्वच्छन्दता स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमल्सिना


काठमाडौं, जेठ ६ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री तिमल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएको उल्लेख गर्नुभयो। तर स्वतन्त्रताको नाममा स्वच्छन्दता स्वीकार्य नहुने उहाँको भनाइ थियो। ‘कानुनले दिएको अधिकार र गरिमालाई ख्याल गरेर पत्रकारिता गर्न अनुरोध गर्दछौँ,’ उहाँले भन्नुभयो।

मन्त्री तिमल्सिनाले नेपालको मिडिया क्षेत्रलाई स्वच्छ, मर्यादित र जिम्मेवार बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। उहाँले सरकारका सबै कार्यक्रम क्रमशः सूचना प्रणालीमार्फत सञ्चालन गरिने जानकारी दिँदै नागरिक एपमार्फत सरकारी सूचनालाई थप प्रभावकारी बनाउने काम भइरहेको उल्लेख गर्नुभयो।

सूचना प्रविधि, साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विधेयक तयारीको चरणमा रहेको जानकारीसमेत उहाँले दिनुभयो। मन्त्री तिमल्सिनाले नेपाललाई ‘टेक हब’ का रूपमा विकास गर्ने योजना सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको बताउँदै सूचना प्रविधि निर्यात उद्योगलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पार्नुभयो।