जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०९:५०

जनकपुरको अर्को स्थानमा पनि भेटियो शंकास्पद बस्तु, धनुषाको सुरक्षा व्यवस्था कमजोर


जनकपुर, मसिंर ३० गते । धनुषा जिल्ला स्थित जनकपुरको अर्को एक ठाउँमा पनि शंकास्पद बस्तु फेला परेको छ ।  जनकपुर उपमहानगरपालिका-१० देवी चोक स्थित कच्ची भित्रि सडक खण्डको बिच भागमा शंकास्पद बस्तु फेला परेको हो । प्रदेश प्रहरी कार्यालय जाने बाटो रहेको उक्त स्थानमा हरियो प्लाष्टिकले बेरेको अं.१०/१५ किलोको शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट करिब २ किलोमिटर उत्तर-पश्चिम पर्ने सो स्थानमा समेत सुरक्षाकर्मी घेराबन्दी गरिएको छ ।

जनकपुरस्थित संकटमोचन देखी बागवानी तर्फ जाने बाटोको पर्खालमाथि राखिएको प्रेसर कुकर बमलाई स्थानीय प्रशासनले डिस्पोजको तयारी थालेको बेला अर्को स्थानमा समेत शंकास्पद फेला परेको हो ।

संकटमोचन देखि बागबानी तर्फ जाने बाटोको पर्खालमाथि बम राखिएको स्थानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै सुरक्षा घेरामा राखेका छन् । सो स्थानको बासिन्दालाई राति नै सुरक्षित तरिकाले खाली गराई सो क्षेत्रको विद्युत प्रशारण बन्द गरिएको छ ।

शंकास्पदस्द बस्तु भेटिएको दुवै स्थानलाई सुरक्षा घेरामा राखेर नेपाली सेनाले डिस्पोजको तयारी थालेको छ ।  जनकपुरको बाह्रविगहा रंगभूमिमा पुस ३ गते एनसेल कम्पनीले आयोजना गर्न लागेको मेलाको विरोधमा विप्लव समूहले बम राखेको हुन सक्ने अनुमान गरिदै छ । धनुषामा एक हप्तामा एक पछि अर्को स्थानमा शंकास्पद बस्तु भेटिएपछि जिल्लाको सुरक्षा व्यवस्था कमजोर भएको आकंलन गर्न थालिएको छ । जिल्लाका प्रमुखहरुले सुरक्षा व्यवस्था मिलाउन नसकेको भनि टिप्पणी हुन थालेको छ ।

धनुषा जिल्लाको महेन्द्रनगरस्थित क्षिरेश्वरनाथमा शुक्रवार राती शक्तिशालि बम बिस्फोट हुँदा ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको थियो ।