काठमाडौं, जेठ ६ । आरती न्यौपाने सम्भवतः नेपालको निजामती सेवामा सबैभन्दा कम उमेरमै सहसचिव बन्ने नयाँ रेकर्ड नजिक पुग्नुभएको छ । २०५१ साउन २० गते जन्मिनुभएकी न्यौपाने ३१ वर्षकै उमेरमा नेपाल प्रशासन सेवा सहसचिव पदमा सफल हुनुभएको हो ।
लोक सेवा आयोगद्वारा खुलाइएको सहसचिव पदको खुला महिला प्रतिस्पर्धामा उहाँ सफल हुनुभएको हो । जानकारहरूका अनुसार खुला प्रतिस्पर्धाबाट ३१ वर्षको उमेरमै सहसचिव बन्ने उहाँ पहिलो महिला हुनुहुन्छ ।
यसअघि कम उमेरमै खुला प्रतिस्पर्धाबाट सहसचिव बन्ने व्यक्तिका रूपमा प्रदीप परियारको नाम लिने गरिन्थ्यो । उहाँ ३२ वर्षको उमेरमा सहसचिव बन्नुभएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट भने सरिता दुवाली ३१ वर्षमै सहसचिव बन्न सफल हुनुभएको थियो ।
आरती न्यौपानेले २०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । विद्यमान कानुनी व्यवस्थाअनुसार अधिकृत स्तरमा प्रवेश गरेको कम्तीमा सात वर्षपछि मात्र सहसचिव पदका लागि प्रतिस्पर्धा गर्न पाइन्छ । यही व्यवस्थाबीच उहाँ ३१ वर्षमै सहसचिव बन्न सफल हुनुभएको हो ।
सामान्यतया २२–२३ वर्षको उमेरमा स्नातक तह पूरा हुने, त्यसलगत्तै अधिकृतमा नाम निकाल्ने, सेवा अवधि पूरा गर्ने र सहसचिवको कठिन प्रतिस्पर्धा पार गर्ने प्रक्रिया सहज मानिँदैन । सहसचिव छनोट प्रक्रियामा लिखित परीक्षा मात्र नभई समूह छलफल, केस स्टडी तथा प्रस्तुतीकरणजस्ता चरणसमेत पार गर्नुपर्ने हुन्छ ।
अधिकृतबाट सुरु भएको उहाँको प्रशासनिक यात्रा छोटो समयमै तीव्र रूपमा अघि बढेको देखिन्छ । उहाँ पाँच वर्षमै उपसचिव बन्न सफल हुनुभएको थियो । २०८० सालमा उपसचिव बन्नुभएकी न्यौपाने केही वर्षमै सहसचिव पदमा पुग्नुभएको हो ।
शैक्षिक रूपमा पनि उहाँको यात्रा उल्लेखनीय देखिन्छ । उहाँले २०६९ सालमा प्लस टु तथा २०७३ सालमा स्नातक तह पूरा गर्नुभएको थियो । त्यसपछि उच्च अध्ययनका लागि विदेश जानुभएकी उहाँले जेनेभा बिजनेस स्कुलबाट ‘मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट’ अध्ययन गर्नुभएको हो ।
उक्त अध्ययन उहाँले छात्रवृत्तिमा नभई आफ्नै खर्चमा पूरा गर्नुभएको थियाे । अध्ययन बिदामै रहँदा उहाँले उपसचिव पदको परीक्षा दिनुभएको थियो । लिखितसहित अन्य चरण पूरा गरेपछि मात्र उहाँ नेपाल फर्किनुभएको थियो ।
निजामती सेवामा प्रवेशपछि उहाँले सुरुका करिब साढे तीन वर्ष सूर्यविनायक नगरपालिकामा अधिकृतका रूपमा काम गर्नुभएको थियो । त्यसपछि करिब एक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहनुभयो । हाल उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।
आरती न्यौपानेका बुवा शिवराम न्यौपाने पनि सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ । बुवाको इमान्दारी, अनुशासन र सार्वजनिक सेवाप्रतिको लगाव देखेरै आफू निजामती सेवातर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ ।
लोक सेवाको तयारी गर्ने निर्णय पनि आफ्नो ठूलो महत्वाकांक्षाभन्दा बुवाको सुझावपछि भएको उहाँको भनाइ छ । बुवाले ‘एक पटक प्रयास गर’ भन्नुभएपछि आफूले परीक्षा दिएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हुनै पर्छ, नाम निकाल्नै पर्छ भनेर होइन, दिएर हेरौँ न त भन्ने हिसाबले आवेदन दिएकी थिएँ । सेक्सन अफिसरमा पनि एकै पटकमा नाम निस्किएको थियो ।’
उहाँका श्रीमान् अर्जुन अधिकारी परराष्ट्र मन्त्रालयमा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । आरती आफूलाई सामान्य जीवनशैली मन पराउने व्यक्ति मान्नुहुन्छ । बुवाको सादा जीवनशैलीबाट आफूले धेरै कुरा सिकेको उहाँको भनाइ छ ।
सेवाग्राहीले अहिले छिटो सेवा मात्र नभई राम्रो व्यवहार पनि अपेक्षा गर्ने गरेको उहाँको बुझाइ छ । सेवाग्राहीको भावना बुझेर सेवा दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
निजामती सेवामा उपसचिवसम्मको तहलाई सेवा प्रवाहको तह तथा सहसचिव र सचिव तहलाई नीति निर्माण तहका रूपमा लिने गरिन्छ । कम उमेरमै सहसचिव बन्न सफल न्यौपानेले विगतको अनुभव, नयाँ पुस्ताको सोच र प्रविधिको उपयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्