काठमाडौं, जेठ ६ । वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल पोखिएकी सडक व्यापारी महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ । नगर प्रहरीले दुर्व्यवहार गर्दै काफलको डालो सडकमा पल्टाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले पीडितलाई राहत उपलब्ध गराउनुका साथै संलग्न कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो ।
कालिकोटको महाबै गाउँपालिका–४ घर भई वीरेन्द्रनगरमा फलफूल बेच्दै आउनुभएकी धर्मिला अधिकारी चौलागाईंको काफल नगर प्रहरीले सडकमा पाेखिदिएकाे थियो । मंगलबार साँझ सिटी बसपार्क क्षेत्रमा भएको उक्त घटनाकाे चौतर्फी आलोचना भएपछि नगरपालिकाले बुधबार उहाँलाई कार्यालयमा बोलाएर राहतस्वरूप १० हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।
नगर प्रमुख मोहनमाया ढकालले घटनाप्रति दुःख व्यक्त गर्दै सडकमा डालाे घाेप्ट्याउन कार्य निन्दनीय भएको बताउनुभयो । उहाँले यो घटना नियतवश नभए पनि पीडितलाई राहतस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराइएको जानकारी दिनुभयो ।
नगर प्रमुख ढकालका अनुसार नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले थप १ हजार ५ सय रुपैयाँ बराबरको काफल खरिद गरेर समेत सहयोग गरेका छन् ।
नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा फुटपाथ व्यवस्थापन अभियानका क्रममा नगर प्रहरीबाट भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गरिने तथा पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको जनाइएको छ ।
सार्वजनिक भएको भिडियोमा नगर प्रहरीको गाडीबाट ओर्लिएका सुरक्षाकर्मीले डोको झकझकाउँदा बिक्रीका लागि राखिएको करिब १५ केजी काफल सडकमा पोखि दिएका थिए। उक्त घटनाबाट चौलागाईंले करिब ७ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुभएको थियो ।
विगत चारदेखि पाँच वर्षदेखि सडकमा फलफूल बेचेर परिवारको जीविकोपार्जन गर्दै आउनुभएकी चौलागाईंको घटनाले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया उत्पन्न गरेको थियो । सर्वसाधारणले नगरपालिकाको कार्यशैलीप्रति आलोचना जनाएका थिए ।
नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि फुटपाथ व्यवस्थापन अभियान सञ्चालन भइरहेको भए पनि कार्यक्षेत्रमा मर्यादित र मानवीय व्यवहार आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने तथा फुटपाथ व्यवस्थापनलाई थप व्यवस्थित, मर्यादित र मानवीय बनाउने प्रतिबद्धता जनाएको छ । पीडित धर्मिला अधिकारी चौलागाईंले भने नगरपालिकाले आफ्नो समस्या बुझेर क्षतिपूर्ति दिएकोमा सन्तोष व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्