काठमाडौ, जेठ ७। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन सिंहदरबारमा बस्ने भएको छ । बैठकमा विभिन्न विधेयकमाथि छलफल, संशोधनमाथि निर्णय तथा पारित गर्ने कार्यसूची तय गरिएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाह को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ । साथै, ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि समेत सदनमा छलफल गरिने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ । त्यसपछि अर्थमन्त्री वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्