जनता टाइम्स

७ जेष्ठ २०८३, बिहीबार ०९:४९

देश फेरि राजनीतिक भूकम्पतर्फ उन्मुख, घण्टी पनि जाने संकेत : गोकुल बाँस्कोटा


काठमाडौं, जेठ ७ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले देश फेरि एउटा ‘राजनीतिक भूकम्प’तर्फ उन्मुख भइरहेको टिप्पणी गर्नुभएको छ । वर्तमान राजनीतिक दलहरू आन्तरिक सत्ता सुरक्षामै अल्झिँदा नयाँ शक्ति र राजनीतिक समीकरणसमेत संकटमा पर्न सक्ने उहाँको दाबी छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले विगतमा जस्तै अहिले पनि दलहरू ‘दरिद्र चिन्तनको दुष्चक्र’मा फसेको आरोप लगाउनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्रीहरू वीपी कोइराला र केपी शर्मा ओलीको सत्ता गुमेको प्रसंग उल्लेख गर्दै अहिले ‘घण्टी’ चिन्ह बोकेको दलसमेत संकटतर्फ उन्मुख रहेको संकेत गर्नुभएको छ ।

‘फेरि एउटा राजनीतिक भूकम्प उन्मुख छ देश । उही कुरा वीपी र केपीका सत्ता गुमे जस्तै भाग तीनले घण्टी पनि जाने जस्तै छ,’ उहाँले लेख्नुभएको छ ।

नेता बाँस्कोटाले २०५९ सालदेखि २०८२ सम्मको राजनीतिक घटनाक्रम स्मरण गर्दै प्रमुख दलहरू बारम्बार सत्ता संरक्षणको गोलचक्करमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार दलहरू आफ्नै आन्तरिक शक्ति संघर्ष र सत्ता जोगाउने मानसिकतामा केन्द्रित हुँदा राजनीतिक परिवर्तनका संकेतलाई समयमै बुझ्न नसक्ने अवस्थामा पुगेका छन् ।

उहाँको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक गतिविधि, सत्ता समीकरण र नयाँ दलहरूप्रतिको बढ्दो असन्तुष्टिसँग जोडेर हेरिएको छ । विशेषगरी ‘घण्टी’ प्रतीकलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडेर अर्थ्याइएपछि नेता बाँस्कोटाको टिप्पणीले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ ।