जनता टाइम्स

७ जेष्ठ २०८३, बिहीबार १२:२७

कांग्रेसको सभामुखलाई प्रश्न :रास्वपाले नीलो स्कार्फ बाँधेको बिर्सनुभयो ? 


काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको विरोधलाई लिएर सभामुखको भूमिका र सत्तापक्षको व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसले श्रम संस्कृति पार्टीले संसदमा गरेकाे विरोधलाई नियन्त्रण गर्न कारबाहीको चेतावनी दिने सभामुखलाई विगत स्मरण गर्न पनि आग्रह गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले तत्कालीन समय र वर्तमान परिस्थितिको तुलना गर्दै संसदभित्रको व्यवहारमा दोहोरो मापदण्ड अपनाइएको बताउनुभयाे ।

उहाँले रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) प्रतिपक्षमा रहँदा सरकारविरुद्ध प्रदर्शन गर्दा नीलो स्कार्फ घाँटीमा बाँधेर वेल घेराबन्दी गरेको, वेलमा पुगेर पलेँटी कसेर बसेको र पुस्तक पढ्ने जस्ता गतिविधि गरेको स्मरण गराउँदै अहिले त्यही दल सत्तामा हुँदा प्रतिपक्षको विरोधलाई ‘अमर्यादित’ भन्न नमिल्ने तर्क गर्नुभयो । ‘त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो, अहिलेको विरोध कसरी अमर्यादित भयो ?’ उहाँले प्रश्न गर्नुभयो ।

कांग्रेस सचेतक राईले संसदलाई सरकारप्रति जवाफदेही बनाउनुपर्ने दायित्व पूरा नभएको आरोप लगाउँदै सरकार, सभामुख र सत्तापक्षले संख्याको दम्भ देखाएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखलाई रुलिङ गर्न पनि माग गर्नुभयो ।

साथै, संसदको मर्यादा कायम राख्ने नाममा प्रतिपक्षको आवाज दबाउने प्रयास भइरहेको भन्दै उहाँले चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । ‘हामीले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका छौँ, तर सरकारले टेरेन,’ उहाँले भन्नुभयो ।

उहाँले संसदको अपमान गर्दा अन्ततः सभामुखकै मर्यादा कमजोर हुने भन्दै संवैधानिक भूमिकाअनुसार निष्पक्षता कायम राख्न सभामुखलाई आग्रह गर्नुभयो ।