काठमाडौं, जेठ ७ । नेकपा एमालेका सांसद क्षितिज थेवेले ताप्लेजुङ जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाबारे संसद्मा गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले आफ्नो जिल्लाका विकास आयोजना दशकौँदेखि अलपत्र परेको भन्दै ती अवस्थालाई ‘ताप्लेजुङको भावना’का रूपमा वर्णन गर्नुभएको हो ।
उहाँका अनुसार सुकेटार विमानस्थल विस्तार र कालोपत्रे भए पनि नियमित उडान सञ्चालन नहुनु, वर्षायाम सुरु हुनेबित्तिकै सडक रोपाइँ जस्तो बन्नु जस्ता समस्या वर्षौंदेखि दोहोरिँदै आएका छन् ।
बहानन्द–दोभान सडक कालोपत्रे भए पनि बजेट अभावका कारण काम ढिलो भएको, देउराली–तिलोक सडक अलपत्र परेको तथा हाङद्रुङ–फुङ्फुङ्गे सडक अत्यन्तै दयनीय अवस्थामा रहेको उहाँले संसदमा बताउनुभयो ।
त्यस्तै साप्लाखु–सुरुम्खिम सडक झन् बिग्रिएको, थर्पु–यामफुदिन सडक २०४६ सालदेखि बनेको भए पनि अझै उस्तै अवस्थामा रहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पाथिभरा सडकलाई लिएर निरन्तर चर्चा हुने गरे पनि वास्तविक काम नभएको उहाँको भनाइ थियो । उहाँले पुलहरूको अवस्था वर्णन गर्नै नसकिने जटिल रहेको टिप्पणी गर्नुभयो ।
उहाँले ठेक्का लागेपछि अब बन्ने आशा गरिए पनि काम अघि नबढ्ने प्रवृत्तिले जनतामा निराशा बढाएको बताउनुभयो । दुई तिहाइको सरकार रहेको अवस्थामा पनि विकासले गति नलिएको भन्दै उहाँले व्यंग्यात्मक शैलीमा प्रश्नसमेत उठाउनुभयो । ‘यी शब्दहरू ताप्लेजुङको भावना हुन्, ५० वर्ष भयो जनताको सपना अधुरै,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्