काठमाडौं, जेठ ७ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो निर्वाचन क्षेत्र इलामका सडक तथा पूर्वाधारको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठमा बोल्दै उहाँले नेपाली सुगम संगीतका नक्षत्र गायक दीप श्रेष्ठको गीत उद्धृत गर्दै पहाड र सहरको जीवन यथार्थलाई जोडेर आफ्नो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘दिनरात सहरमा झरी पर्छ, गाउँमा सायद खेतै बग्यो कि ! हरसाँझ सहरमा हुरी चल्छ, गाउँमा सायद छानै उड्यो कि !!’
उहाँले वर्षायाम सुरु हुन लागेको उल्लेख गर्दै यही संसद् भवनभित्र बसेर पनि बाहिर पानी दर्किँदा मन सिधै इलाम पुग्ने अनुभव सुनाउनुभयो । ‘जब पानी दर्किन्छ, तब इलामका पहाडी सडकहरू भत्किन्छन्, पहिरो जान्छ, एम्बुलेन्स, बसहरू बिच बाटोमै अलपत्र पर्छन्,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार जनताबाट निरन्तर आउने फोन र म्यासेजले गाउँको वास्तविक पीडा झन् नजिक ल्याउने गरेको छ । उहाँले राजदुवाली सडक, दमक–चिसापानी सडक, नेपालटार–मंगलबारे सडक, राँके–रवि–भेडेटार सडक, बेलासे सडक तथा मदन भण्डारी राजमार्गजस्ता महत्त्वपूर्ण आयोजना अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘अपेक्षित बजेटको अभाव, कानुनी उल्झन र ठेकेदारहरूको चरम लापरबाहीका कारण यी सडकहरू अलपत्र छन्, मैले मन्त्रालयका कति ढोका ढकढक्याएँ, तर समस्या ज्युँ का त्युँ छ ।’
उहाँले थप्नुभयो, ‘बर्खा लागेपछि न हामी सहरमा चैनले निदाउन सक्छौँ, न गाउँका जनता ढुक्कले सुत्न सक्छन्, त्यसैले यी अधुरा सडक र पुलहरूको द्रुत निर्माणका लागि सरकार गम्भीर हुनुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्