जनता टाइम्स

७ जेष्ठ २०८३, बिहीबार १४:३८

अर्जुननरसिंह केसीकाे प्रश्न : प्रधानमन्त्री याे संसद्को अङ्ग हो कि कुनै टापुको सम्राट ?


काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहप्रति कडा टिप्पणी गर्दै उहाँले आफू यो देशको नागरिक नै नभएजस्तो व्यवहार देखाएको बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नदेखिएको भन्दै प्रश्न उठाउनुभयो । उहाँले प्रधानमन्त्री यही संसद्को अभिन्न अङ्ग हो कि कुनै छुट्टै साम्राज्यको सम्राट जस्तो व्यवहार गरिरहनुभएको हो भन्ने प्रश्न गर्नुभयो ।

‘प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ, गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो, उहाँ स्वयं यो संसद्को अङ्ग हो कि होइन मैले थाहा पाएको छैन, उहाँ भिन्दै साम्राज्यको कतैको टापुको सम्राट हो कि यो संसद्को अभिन्न अङ्ग हो ?’ उहाँले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीको संसदमा अनुपस्थिति र जवाफदेहिताप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

बैठकमा बोल्दै सांसद केसीले अब १५ दिनपछि सुरु हुने मनसुनको पूर्वतयारीबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विगतका वर्षहरूमा देखिएका अव्यवस्था र क्षतिबाट पाठ सिकेर ठोस कार्ययोजना बनाउन सरकारलाई आग्रह गर्नुभयो । ‘विगत वर्षहरूमा भएको बेथितिबाट मात्रै क्षति सच्याउन सकिन्छ । निश्चित अवधारणा र कार्यगत योजनाबाट मात्रै नयाँ निर्माण सम्भव हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले हरेक वर्ष उस्तै क्षति दोहोरिने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे ।