काठमाडौं, जेठ ७ । प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको लगातार अनुपस्थितिलाई लिएर प्रतिपक्षी दलहरूले संसदमा चर्को विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
बिहीबारको बैठकमा प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई तत्काल सदनमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेका थिए । तर सभामुख डिपी अर्यालले उक्त माग अस्वीकार गर्दै बैठक अघि बढाउन खोजेपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका हुन् ।
सदनमा नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति, राप्रपा सहित सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको बताउँदै विरोध गरेका थिए । उनीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर उठाइएका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए ।
प्रतिपक्षी सांसदहरूको विरोधका क्रममा सभामुख अर्याल र सांसदहरूबिच केही बेर तीखा भनाभनसमेत भएको थियो । विपक्षी सांसदहरूले सभामुख प्रतिपक्षप्रति असहिष्णु र रुखो रूपमा प्रस्तुत भन्दै आपत्ति जनाउनुभएकाे थियाे । सदनमा अवरोध जारी भएपछि सभामुखले अन्ततः बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह संसद्को बैठकमा उपस्थित हुन नमानिरहेको भन्दै आलाेचना गर्दै आएका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला समेत प्रधानमन्त्री बीचमै निस्केर हिँडेको प्रसंग जोड्दै विपक्षी सांसदहरूले सरकार संसद्प्रति गैरजिम्मेवार बनेको टिप्पणी गरेका छन् ।
यसअघि पनि प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर लगातार प्रश्न उठाउँदै आएका छन् । बिहीबारको बैठकमा भने त्यो विवाद झन् चर्किँदा संसद्को कामकारबाही नै प्रभावित बनेको हो । बैठकमा सभामुखकाे रुखाे व्यवहारले वातावरण झन् बिग्रिएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्