काठमाडौं, जेठ ८ । एमाले नेता गोकुल बास्कोटाले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनप्रति असन्तुष्टि जनाउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता बास्कोटाले एउटै प्रकृतिका विभाग र फाँटहरू केवल नामका लागि राखिएको टिप्पणी गर्नुभएको हो । उहाँलाई भूमि व्यवस्था विभाग प्रमुखको जिम्मेवारी प्रस्ताव गरिएको बताइएको छ ।
बास्कोटाले संगठनलाई कामकाजी बनाउनुको सट्टा नामधारी संरचना बनाउने प्रवृत्तिप्रति प्रश्न उठाउनुभएको छ । ‘एमालेले उस्तै–उस्तै प्रकृतिका विभाग र फाँट नामकै लागि किन राख्नु ? जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइहाल्यो नि, मर्जिङ गर्नु राम्रो,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाँले ‘कामकाजी नहुने, नामधारी हुने संगठनमा व्यक्तिका नामको चाङ किन चाहियो ?’ भन्दै नेतृत्वको प्रस्तावित संरचनामाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
साथै आफूले कुनै जिम्मेवारी नमागेको स्पष्ट पार्दै बास्कोटाले ‘मागेको हैन, सुनेपछि लागेको कुरा भनेको’ उल्लेख गर्नुभएको छ ।
एमाले सचिवालय बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरिरहेका बेला बास्कोटाको याे टिप्पणी आएकाे हाे । कार्यविभाजनाको टुङ्गाे लगाउन आज एमाले सचिवालय बैठक बस्दै छ ।













प्रतिक्रिया दिनुहोस्