रामेछाप, जेठ ८ । उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा निर्माणाधीन स्वास्थ्य चौकी भवन चार वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म निर्माणकार्य पूरा हुन सकेको छैन । निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण भवन निर्माण अलपत्र परेकाे मात्र नभई कामदारहरूले वर्षौंदेखि आफूहरूले पाउनुपर्ने ज्याला समेत नपाएको गुनासो गरेका छन् ।
स्थानीयका अनुसार ‘स्काइ विवश निर्माण’ नामक निर्माण कम्पनीले ठेक्का लिएको उक्त भवन निर्माणमा काम गरेका मजदुरहरूले करिब १४ लाख रुपैयाँभन्दा बढी ज्याला रकम अझै पाउन सकेका छैनन् । स्थानीय कर्णबहादुर सुनुवारले निर्माण व्यवसायी सम्पर्कविहीन बनेको बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले फोनसमेत उठाएका छैनन् ।
स्थानीय प्रसाद सुनुवारले स्वास्थ्य चौकीको जग राख्दादेखि नै आफूले काम गरे पनि हालसम्म पारिश्रमिक नपाएको बताउनुभयो । उहाँले भवन निर्माण सुरु हुँदा काम गरेर काठमाडौं जानुभएको र चार वर्षपछि गाउँ फर्कँदा पनि न त पैसा पाउनुभएको छ, न त भवन निर्माण सम्पन्न भएको अवस्था नै देख्नुभएको छ ।
उहाँ अहिले फेरि गाउँ फर्किएर पुरानो ज्याला पाइने आशामा पछिल्लो ६ महिनादेखि सोही भवन निर्माणमा काम गरिरहनुभएको छ । ‘त्यतिकै बस्नुभन्दा पैसा पाइएला भनेर फेरि काम गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘तर अझै पनि पैसा पाइन्छ वा पाइँदैन भन्ने निश्चित छैन ।’
स्थानीय मजदुर केशव सुनुवारले पटक–पटक ‘पैसा पठाइदिन्छु’ भनेर आश्वासन दिँदै काम गराइएको तर हालसम्म भुक्तानी नभएको बताउनुभयो । निर्माण व्यवसायीबाट ठगिएको अनुभूति हुँदाहुँदै पनि पुरानो रकम पाइने आशामा मजदुरहरू काम गर्न बाध्य रहेको स्थानीयको भनाइ छ ।
स्थानीय पवित्र कार्कीका अनुसार निर्माण व्यवसायी र सम्बन्धित कार्यालय दुवै पक्षको कमजोरीका कारण भवन समयमै सम्पन्न हुन नसकेको हो । उहाँले प्रभावकारी अनुगमन नहुनु, समयमा बिल भुक्तानी नहुनु तथा निर्माण व्यवसायीले काममा ढिलाइ गर्नुका साथै मजदुरको ज्याला समेत नदिनु गम्भीर लापरबाही भएको बताउनुभयो ।

यसैबीच वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले लामो समयसम्म काम सम्पन्न नगर्ने तथा मजदुरलाई ज्याला नदिने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । भवनको अनुगमनका लागि दुर्गम गाउँ पुग्नुभएका मन्त्री थापाले यस विषयमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माणअन्तर्गत रामेछाप जिल्लाका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माण जिम्मा ‘स्काइ विवश निर्माण’ कम्पनीले लिएको थियो । तर कम्पनीले समयमा काम नगर्दा अधिकांश स्वास्थ्य चौकी भवन अहिले पनि अलपत्र अवस्थामा छन् ।
भवन निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेको छ । अस्थायी संरचना तथा साँघुरा भवनबाट सेवा सञ्चालन गर्नुपर्दा स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले समस्या भोगिरहेका छन् ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सुरु गरिएका स्वास्थ्य चौकी भवनमध्ये कुनै पनि भवन हालसम्म पूर्ण रूपमा सम्पन्न हुन सकेका छैनन् । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार उक्त कम्पनीले २०७८ वैशाख ८ गतेदेखि १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी जिल्लाका विभिन्न १९ स्वास्थ्य संस्थाको भवन निर्माण कार्य सुरु गरेको थियो ।
निर्धारित समयभित्र काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि कम्पनीले निर्माणकार्यलाई गति दिन सकेको छैन । कम्पनीले ११ वटा स्वास्थ्य चौकी भवन १९ करोड ३७ लाख ८७ हजार रुपैयाँ तथा थप ८ वटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण गर्ने सम्झौता गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्