काठमाडौं, जेठ ८ । नेकपा एमालेको सचिवालय बैठक पुनः शनिबार बस्ने गरी स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको बैठकमा अध्यक्ष तथा उपाध्यक्षहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठक शनिबार बिहान ११ः३० बजे पुनः बस्नेछ । बैठकमा आएका सुझावका आधारमा नेताहरूको कार्यविभाजनका लागि प्रस्तावित नामहरूमा संशोधन हुन सक्ने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको थियो । सोही प्रस्तावमाथि नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।
शुक्रबारको बैठकमा अधिकांश नेताहरूले पार्टीको वर्तमान अवस्था र निर्वाचनको विषयलाई केन्द्रमा राखेर धारणा राखेकाले कार्यविभाजनसम्बन्धी छलफलले ठोस रूप लिन नसकेको जनाइएको छ ।
बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी कमजोर अवस्थामा पुगेकाले नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिनुभएको स्रोतले जनाएको छ ।
उपाध्यक्ष रामबहादुर थापाले भने अहिले नेतृत्वमाथि विभिन्न कोणबाट हमला भइरहेको भन्दै नेतृत्वलाई जोगाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्