जनता टाइम्स

३० मंसिर २०७६, सोमबार १२:५४

हिमपातमा बेपता भएका १२ सकुशल सम्पर्कमा


जुम्ला, मंसिर ३० ।  तिला गाउँपालिका वडा नं. ९ ढिपुगाउँका शेरा फूलबारी पाटनबाट बेपत्ता भएका १२ जना सम्पर्कमा आएका छन् । जडीबुटी सङ्कलन गर्न गएका  चार दिनदेखि सम्पर्कमा आउन नसकेका उनीहरु केहीबेर अघि सम्पर्कमा आएको निमित प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताउनुभयो ।

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ  गएको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बताउनुभयो । सम्पर्क विहीन रहेका १२ जनालाई उद्बारका लागि गृह मन्त्रालयले सुर्खेतबाट हेलिकप्टर पठाउने तयारी गरेको थियो । बाह्रै जना सम्पर्कमा आएपछि हेलिकप्टर उडाउनु नपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको छ । उहाँका अनुसार तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन् ।