जनता टाइम्स

८ जेष्ठ २०८३, शुक्रबार २१:२६

मन्थलीका धानुकुमार श्रेष्ठले चुमे सगरमाथा, रामेछापका युवाका लागि बने प्रेरणाका शिखर


रामेछाप, जेठ ८ । धानुकुमार श्रेष्ठले विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरी साहसिक कीर्तिमान कायम गर्नुभएको छ ।

रामेछापको मन्थली–१ निवासी २५ वर्षीय श्रेष्ठले जेठ ७ गते दिउँसो १ बजे ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेको सगरमाथा हिमालको चुचुरोमा पुगेर सफलता हासिल गर्नुभएको हो ।

बाल्यकालदेखि नै मार्सल आर्ट खेलमा सक्रिय रहनुभएका धानुकुमार श्रेष्ठले कठिन संघर्ष, आत्मविश्वास र अथक मेहनतका साथ विश्वको सर्वोच्च शिखर चुम्न सफल हुनुभएको उहाँका बुबा टंक श्रेष्ठले जानकारी दिनुभयाे। उहाँ मन्थली नगरपालिकाबाट सगरमाथा हिमाल आरोहण गर्ने पहिलो युवा बन्नुभएको छ ।

चैत्र २७ गते मन्थलीबाट यात्रा सुरु गर्नुभएका श्रेष्ठ लुक्ला हुँदै बेसक्याम्प पुगेर आवश्यक तयारीपछि सगरमाथा हिमालको आरोहणमा सफल हुनुभएको हो ।

उहाँको सफलताले रामेछापका युवाहरूमा नयाँ उत्साह थपेको छ । सामान्य परिवार र गाउँको परिवेशबाट विश्वको सर्वोच्च शिखरसम्म पुग्न सकिन्छ भन्ने उदाहरण धानुकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको छ ।

यसअघि रामेछापकाे लिखु तामाकाेशी गाउँपालिका-७ तिल्पुङका  प्रकाशराज पाण्डेले सगरमाथा हिमालसहित विश्वका पाँचभन्दा बढी हिमालहरूको आरोहण गरी रामेछाप जिल्लाको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाइसक्नुभएको छ । अब धानुकुमार श्रेष्ठको सफलताले पनि साहसिक पर्यटन र पर्वतारोहण क्षेत्रमा जिल्लाको नयाँ इतिहास थपेको छ ।