जनता टाइम्स

९ जेष्ठ २०८३, शनिबार १८:०८

पत्रकारिताले समाजलाई ज्योति देखाउने काम गर्छ : अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकी


रामेछाप, जेठ ९ । प्रतिनिधि सभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले समाजको आवाज सशक्त रूपमा उठाउनुका साथै जनता र जनप्रतिनिधिलाई सही बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ रामेछापको २१ औँ साधारण सभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दै उहाँले पत्रकारिता क्षेत्रले लोकतन्त्र, सुशासन र जनउत्तरदायी शासन व्यवस्थालाई बलियो बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले नयाँ सरकार गठनपछि भएका केही निर्णयका कारण पत्रकारिता क्षेत्रले भोग्नुपरेका असजिलाबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमलाई जनमुखी र व्यावसायिक बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । ‘पत्रकारबाट समाजले धेरै अपेक्षा गरेको हुन्छ, जनप्रतिनिधिले पनि धेरै अपेक्षा गरेका हुन्छन्, पत्रकारिताले ज्योति देखाउने काम गर्दछ,’ उहाँले भन्नुभयो ।

उहाँले जनप्रतिनिधिलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक तथा पेसागत पत्रकारिताको विकासका लागि आफू र सरकारका तर्फबाट आवश्यक सहयोग रहने उहाँले स्पष्ट पार्नुभयो ।

सभापति बुढाथोकीले आफूले जनताका आवाजलाई सशक्त रूपमा उठाउँदै आएको र आगामी दिनमा पनि निरन्तर उठाइरहने बताउँदै पत्रकारहरूबाट सुझाव र सहयोगको अपेक्षा गर्नुभयो । ‘मेरा भूमिकाहरूलाई मैले अझै निखार्नु पर्छ, जनताको आवाज उठाएको छु, उठाउने छु, यहाँहरूबाट सुझाव पाउँ,’ उहाँले भन्नुभयो ।

उहाँले धेरै ठुला कुरा गर्नु भन्दा पनि सुशासन र समृद्धिका लागि साना–साना कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । विकासको गतिलाई तीव्र बनाउने दिशामा आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

जनताले परिवर्तनको अनुभूति व्यवहारमै चाँडै गर्न सकुन् भन्ने उद्देश्यका साथ आफूहरू काम गरिरहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विकास र समृद्धिका लागि सरकार केन्द्रित रहेको बताउनुभयो । आगामी बजेट तथा कार्यक्रम पनि आर्थिक समृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर ल्याइने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले नेपाली पत्रकारिता क्षेत्रले अहिले गम्भीर चुनौती सामना गरिरहेको बताउँदै यसको समाधानका लागि सबै क्षेत्रको समान भूमिका आवश्यक रहेको बताउनुभयो । पत्रकारिता कमजोर हुँदा लोकतन्त्र नै कमजोर बन्ने भएकाले यो केवल पत्रकारको मात्र विषय नभएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशकी उपाध्यक्ष विमला पाण्डेले सरकारको सञ्चार नीतिको विरोधमा महासंघ आन्दोलनमा रहेको जानकारी दिँदै त्यसमा स्थानीय तहको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी अध्यक्ष चीना खड्का कार्की,  मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, लिखु तामाकाेशी गाउँपालिका अध्यक्ष केशव महत, सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ तथा दाेरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान, प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापा लगायतले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र पत्रकारको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार हिमाल ढुङ्गेल र रमेश ढुङ्गेललाई फरक–फरक दुई पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

साधारण सभाले संस्थाको संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका योजना समेत अनुमोदन गरेको छ । साथै जिल्लाका पत्रकारहरूका लागि स्थापना गरिएको राहत कोषको कार्यविधि पनि पारित गरिएको महासङ्घका सचिव नवराज श्रेष्ठले जानकारी दिनुभयाे ।