काठमाडौं, जेठ ९ । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टी नेतृत्व परिवर्तनको बहस थप तीव्र बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा शनिबार बसेको सचिवालय बैठकमा अधिकांश नेताहरूले पार्टीलाई यथास्थितिमा अघि बढाउन नसकिने भन्दै निकाससहितको नयाँ मार्ग खोज्नुपर्ने धारणा राख्नुभएको स्रोतले जनाएको छ ।
बैठकमा महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राख्नुभएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी चार सचिवले आइतबार धारणा राखेपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रिया अघि बढाइनेछ ।
बैठक आइतबार बिहान ११ः३० बजे पुनः बस्ने तय भएको छ ।
आजको बैठकमा बोल्ने अधिकांश पदाधिकारीहरूले पार्टीलाई गतिशील बनाउन नेतृत्व तहमा परिवर्तन आवश्यक रहेको धारणा राख्नुभएको बुझिएको छ । सचिव महेश बस्नेत बाहेक आज धारणा राख्ने अधिकांश नेताहरूले पार्टी यथास्थितिबाट अघि बढ्न नसक्ने भन्दै निकासको आवश्यकता औँल्याउनुभएको स्रोतको दाबी छ ।
यद्यपि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत भने अध्यक्ष ओलीको पक्षमा देखिनुभएको बताइएको छ ।
पार्टी महासचिव शंकर पोखरेलले पनि कार्यकर्तामा ऊर्जा भर्न र पार्टीलाई नयाँ गति दिन अध्यक्षबाट मार्ग प्रशस्त हुनुपर्ने धारणा राख्नुभएको स्रोतले जनाएको छ ।
आइतबार बस्ने बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्नुहुने कार्यसूची रहेको छ ।
यसअघि शुक्रबार सुरु भएको बैठकको पहिलो दिन बोल्ने पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष ओलीले पार्टीभित्र सहमतिका लागि मार्ग प्रशस्त गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्