जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार ०७:४३

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजन टुङ्ग्याउने तयारी


काठमाडौं, जेठ १० । नेकपा (एमाले) सचिवालय बैठक आज पनि बस्ने भएको छ । तीन दिनदेखि जारी बैठकमा पार्टीको संगठन, आगामी नीति तथा नेताहरूको कार्यविभाजनबारे छलफल भइरहेको छ ।

आजको बैठकमा बोल्न बाँकी सचिवहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य  राख्नु हुने बताइएको छ ।

अस्ती बसेको बैठकमा पाँच जना उपाध्यक्षहरूले धारणा राख्नु भएको थियो भने हिजोको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू तथा सचिवहरू सहित नौ जनाले आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।  त्यस अघिकाे बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजनकाे प्रस्ताव राख्नु भएकाे थियाे । नेताहरूले पार्टी संगठनलाई थप व्यवस्थित र गतिशील बनाउने, आगामी राजनीतिक रणनीति तय गर्ने तथा जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउने विषयमा सुझाव राखेको बताइएको छ ।

बैठकको मुख्य कार्यसूचीमध्ये नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने विषय पनि रहेको छ । यसअघि अध्यक्ष ओलीले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरिसक्नु भएको र सोही प्रस्तावका आधारमा बैठकले नेताहरूको जिम्मेवारी टुङ्ग्याउने तयारी गरेको स्रोतले जनाएको छ ।

यसैबीच बैठकमा अध्यक्ष ओलीको राजीनामा माग गरिएको भन्ने चर्चा बाहिर आए पनि पार्टीले त्यसलाई अस्वीकार गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले अध्यक्षको राजीनामाबारे कुनै छलफल नभएको स्पष्ट पार्नु भएको छ ।

एमालेभित्र संगठनात्मक पुनर्संरचना, जिम्मेवारी बाँडफाँट र आगामी राजनीतिक कार्यदिशालाई लिएर सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।