जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार १२:३९

एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन र आगामी रणनीतिमा केन्द्रित छलफल


काठमाडौं, जेठ १० । नेकपा (एमाले) सचिवालय बैठक आज पुनः सुरु भएको छ । तीन दिनदेखि जारी बैठकमा पार्टी संगठनलाई थप व्यवस्थित बनाउने, आगामी राजनीतिक रणनीति तय गर्ने तथा नेताहरूको कार्यविभाजनबारे गहन छलफल भइरहेको छ ।

आजको बैठकमा यसअघि बोल्न बाँकी सचिवहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले धारणा सहित समापन मन्तव्य राख्नुहुने बताइएको छ ।

यसअघि अस्ती बसेको बैठकमा पाँच जना उपाध्यक्षहरूले धारणा राख्नु भएको थियो भने हिजोको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू तथा सचिवहरू सहित नौ जनाले आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो ।

त्यसअघिको बैठकमा अध्यक्ष ओलीले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गर्नु भएको थियो । सचिवालय सदस्यहरूले पार्टी संगठनलाई थप गतिशील, प्रभावकारी र अनुशासित बनाउने विषयमा आ–आफ्ना सुझाव राखेको बताइएको छ ।

बैठकको मुख्य कार्यसूचीमध्ये नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रस्तावकै आधारमा नेताहरूको कार्यविभाजन टुङ्ग्याउने तयारी गरिएको स्रोतले जनाएको छ