जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार २१:५४

एमालेद्वारा पार्टी समीक्षा कार्यदल गठन, नयाँ ढंगले अघि बढ्ने 


काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा कार्य विभाजनसम्बन्धी बैठकले पार्टी जीवनको समग्र वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा बनेकाे कार्यदलमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ,  महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट, नेता छविलाल विश्वकर्मा तथा सातवटै प्रदेशका इन्चार्जहरू सहभागी रहनुभएको छ।

कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन एक महिनाको समयसीमा तोकिएको छ। गत सोमबारदेखि सुरु भएर आइतबार सम्पन्न बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी विषयमा पनि निर्णय गरिएको छ। बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरूको कार्य विभाजन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

एमाले सचिव शेरधन राईका अनुसार बैठकपछि एमाले नयाँ ढंगले अघि बढ्ने कार्यदिशा तय गरिएको छ। ‘कमीकमजोरी सच्याउँदै अब नेकपा एमाले नयाँ ढंगले अघि बढ्ने अपेक्षा छ,’ सचिव राईले भन्नुभयो, ‘अब उपाध्यक्ष थापा नेतृत्वको कार्यदलको सुझावअनुसार एमाले अघि बढ्छ।’

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार दिउँसो १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राख्नुभएको थियो। कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै आवश्यक निर्देशन दिनुभएको जनाइएको छ।