रामेछाप, जेठ ११ । एक समय ‘धनी’ वा सहरी जीवनशैलीसँग जोडेर हेरिने नसर्ने रोगहरू अहिले गाउँघरमा पनि तीव्र रूपमा फैलिन थालेका छन् । उच्च रक्तचाप, मधुमेह, बाथ, नसासम्बन्धी समस्या, ग्यास्ट्रिक तथा पक्षघातजस्ता रोग ग्रामीण बस्तीमा भयावह रूपमा देखिन थालेपछि स्वास्थ्यकर्मीहरूले समयमै सचेत हुन आग्रह गर्नुभएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रामेछापले ग्रामीण क्षेत्रमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरमा नसर्ने रोगका बिरामीहरू ठूलो सङ्ख्यामा फेला पर्न थालेपछि चिकित्सकहरू चिन्तित बन्नुभएको छ । चिकित्सालयका प्रमुख दीपक कार्कीका अनुसार स्वास्थ्य शिविरमा आउने ५० जनामध्ये कम्तीमा ५ जनामा उच्च रक्तचाप वा मधुमेह अत्यधिक मात्रामा देखिने गरेको छ । अझ चिन्ताजनक पक्ष के छ भने अधिकांशले यसअघि कहिल्यै स्वास्थ्य परीक्षण नगराएको र औषधि समेत नखाएको पाइएको छ ।
उहाँका अनुसार ग्रामीण क्षेत्रमा अहिले उच्च रक्तचाप, मधुमेह, नसा तथा जोर्नी दुख्ने समस्या तीव्र रूपमा बढिरहेको छ । समयमै परीक्षण र उपचार नगर्दा यस्ता रोगले दीर्घकालीन रूपमा शरीरका महत्वपूर्ण अङ्गमा गम्भीर असर पुर्याउने जोखिम रहेको चिकित्सकहरूले बताउनुभएको छ ।
चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार कतिपय मानिसमा ५ सय मिलिग्राम प्रति डेसिलिटरभन्दा बढी सुगर देखिएको छ । केही दिनअघि खाँडादेवी गाउँपालिका–४ रजगाउँमा आयोजित शिविरमा एक व्यक्तिमा ५२४ मिलिग्राम प्रति डेसिलिटर चिनीको मात्रा भेटिएको उहाँले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा खाना खाएपछि रगतमा चिनीको मात्रा १४० मिलिग्राम प्रति डेसिलिटरभन्दा कम हुनुपर्छ । १४० देखि १९९ मिलिग्राम प्रति डेसिलिटरसम्म भए ‘प्रि–डाइबिटिज’ को संकेत मानिन्छ भने २०० भन्दा माथि पुगे मधुमेहको जोखिम मानिन्छ । तर धेरै ग्रामीण नागरिकमा अत्यधिक चिनीको मात्रा देखिनु गम्भीर स्वास्थ्य चुनौती भएको चिकित्सकहरूको भनाइ छ ।
चिकित्सालयका डा. उत्तम गैरेका अनुसार मधुमेह समयमै नियन्त्रण नगर्दा आँखाको नसा फुट्ने, मिर्गौला फेल हुने, हृदयाघात तथा पक्षघातसम्मको जोखिम बढ्छ ।
उच्च रक्तचापको समस्या पनि ग्रामीण क्षेत्रमा डरलाग्दो रूपमा बढिरहेको छ । सामान्यतः १२०/८० हुनुपर्ने रक्तचाप कतिपयमा १८०/१३० सम्म देखिएको चिकित्सालयले जनाएको छ । अझ कतिपय बिरामीले हालसम्म औषधि नै नखाएको र औषधि खाइरहेकाको पनि रक्तचाप नियन्त्रणमा नरहेको पाइएको छ ।
चिकित्सकहरूका अनुसार उच्च रक्तचापलाई ‘सायलन्ट किलर’ समेत भनिन्छ, किनकि यसले सुरुवाती चरणमा धेरै लक्षण नदेखाई शरीरका भित्री अङ्गमा गम्भीर असर गरिरहेको हुन्छ । यसले हृदयाघात, मस्तिष्कघात, मिर्गौला समस्या लगायतका जोखिम अत्यधिक बढाउँछ ।
स्वास्थ्य शिविरमा युरिक एसिड, ग्यास्ट्रिक, छाला रोग, जोर्नी दुख्ने र नसासम्बन्धी समस्याका बिरामीहरू पनि उल्लेख्य सङ्ख्यामा देखिएका छन् । युवादेखि ज्येष्ठ नागरिकसम्ममा यस्ता रोग देखिन थालेपछि चिकित्सकहरूले जीवनशैलीमा सुधार गर्न आग्रह गर्नुभएको छ ।
चिकित्सालयकी डा. सविता भण्डारीका अनुसार अस्वस्थ खानपान, शारीरिक श्रम घट्दै जानु, अत्यधिक तनाव, कृत्रिम पेय पदार्थको सेवन, निद्राको कमी तथा अनियमित जीवनशैलीका कारण नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन् । उहाँले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित भोजन, दैनिक व्यायाम, धूम्रपान तथा मदिराजन्य पदार्थबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र समयमै उपचार सुरु गर्ने बानीले यस्ता रोगबाट बच्न सकिने बताउनुभयो ।
स्वास्थ्यकर्मीहरूका अनुसार ‘रोग लागेपछि उपचार’ भन्दा ‘रोग लाग्न नदिनु’ नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य परीक्षणप्रति अझै चेतना कम भएकाले धेरै मानिसमा रोग जटिल अवस्थामा पुगेपछि मात्र पत्ता लाग्ने गरेको छ ।
त्यसैले चिकित्सकहरूको सुझाव छ-कम्तीमा वर्षमा एक पटक रक्तचाप, सुगर तथा अन्य आधारभूत स्वास्थ्य परीक्षण गराउनुपर्छ । स्वस्थ जीवनशैली अपनाउने हो भने नसर्ने रोगको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्