जनता टाइम्स

११ जेष्ठ २०८३, सोमबार १३:२२

जति छुट भयो-भयो, अब त्यस्तो छुट हुन्न : केपी ओली


काठमाडौं, जेठ ११ । नेकपा एमालेले अनुशासनको पालना र पार्टी निर्णयको कार्यान्वयनमा कठोर निर्णय लिएको छ । तीन दिनसम्म बसेको सचिवालय बैठकमा खुलेर छलफल गरी साझा निष्कर्ष निकाल्दै अब अनुशासन पालना र पार्टी निर्णय कार्यान्वयनको मामिलामा सम्झौताहीन बाटो अवलम्बन गर्ने निर्णय लिएको हो ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले विगतमा जस्तो मनलाग्दी काम गर्न पूर्णतः निषेध गरेको छ । सचिवालय बैठकमा सबै पदाधिकारीले खुलाखुलस्त कुरा राखेको र पार्टीलाई पुरानै अवस्थामा फर्काउने एकमना एकताका साथ अघि बढ्ने नीतिसहित अव ‘मुखको स्वाद फेर्ने काम’ लाई क्षमा नदिने निष्कर्ष निकालेको छ ।

बैठकले आफूखुसी मनलाग्दी लेख्ने र बोल्नेदेखि पार्टी निर्णयभन्दा बाहिर जान पुरै रोक लगाएको छ । बैठकको समापनको क्रममा अध्यक्ष केपी शर्मा ओलीले होचीमिन्हको उदाहरण दिँदै एकतामा जोड दिनुभएको उपमहासचिव भट्टले जानकारी दिनुभयो । ‘हामीले एकताका साथ अघि बढ्दा कार्यकर्ता र जनतामा उत्साह ल्याउन सकिन्छ, एकतामै देश र जनताको भलो छ भन्ने कुरामा अध्यक्षले विशेष जोड दिनुभयो,’ भट्टले भन्नुभयो ।

बैठकले सचिवालय सदस्यहरूको बरियदाक्रम निर्धारणदेखि पार्टी कार्यालय बनाउनेसम्मको निर्णय लिएको छ ।बैठकमा अध्यक्ष ओलीले अव विगतमा जस्तो जे गर्दा पनि छुटको नीति अन्त्य भएको जानकारी गराउनु भएको छ । ‘जति छुट हुनुपर्ने हो अहिलेसम्म भयो, अव त्यस्तो छुट हुन्न भन्नेमा सबै प्रष्ट हुनुपर्छ,’ बैठकमा अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै उपमहासचिव भट्टले भन्नुभयो ।

बैठकले पार्टीमा अनुशासन कायम गराउने विषयमा विशेष जोड दिएको छ भने पदाधिकारी तहबाटै भइरहेको अनुशासनहीन कार्य कडाइका साथ नियन्त्रण गर्ने निर्णय लिएको छ ।