जनता टाइम्स

११ जेष्ठ २०८३, सोमबार १५:३४

१५औं महाधिवेशनको तयारीमा कांग्रेस सक्रिय, जेठ २१ भित्र क्रियाशील सदस्यता अद्यावधिक सक्न निर्देशन


काठमाडौं, जेठ ११ । नेपाली कांग्रेस ले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणको काम जेठ २१ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभरका संगठनात्मक संरचनामार्फत सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारीसमेत तोकेको छ।

पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे र लुम्बिनीमा अमरसिंह पुनलाई सदस्यता अद्यावधिकको अनुगमन जिम्मेवारी दिएको जनाएको छ।

त्यस्तै, १४औँ महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले आधिकारिकता दिएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरिएको छ।

विभिन्न दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौं जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा पनि सदस्यता अद्यावधिक तथा अधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरिएको छ। अधिवेशन सम्पन्न भइसकेका सात देशका जनसम्पर्क समितिलाई क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउन अनुमति दिने तथा समस्या नदेखिएका १५ देशका समितिलाई अधिवेशनको समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

बैठकले केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिव नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई व्यवस्थित, अद्यावधिक र विवादरहित बनाउन विभिन्न निर्णय गरिएको जनाइएको छ।