काठमाडौं, जेठ ११। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
आज बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बर्खे धान बालीका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोक्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले उक्त मूल्य निर्धारणसँगै अन्य निर्णयहरू पनि गरेको छ ।
बैठकले नेपाल–चीन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे–केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसै गरी सहकारी क्षेत्रमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलले पार्टी सभापति रवि लामिछाने आफ्नै ढङ्गले भारत भ्रमणमा जान लागेको बताउनुभयो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको बताउनुभयो ।
पोखरेलले प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवसमा नबोल्नेबारे मन्त्रिपरिषदमा छलफल नभएको पनि बताउनुभयाे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले आवश्यकता अनुसार बोल्ने उहाँले बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्