जनता टाइम्स

११ जेष्ठ २०८३, सोमबार २१:०५

पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी दबाब निन्दनीय : प्रेस चौतारी


काठमाडौं, जेठ ११ प्रेस चौतारी नेपाल ले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिक का प्रधान सम्पादक किशोर श्रेष्ठ माथि सरकारी धरपकड र दबाब सिर्जना गरिएको भन्दै त्यसको निन्दा गरेको छ ।

चौतारीका महासचिव हिरामान लामा ले सोमबार विज्ञप्ति जारी गर्दै राज्य संयन्त्रको दुरुपयोग गरी धरपकड, धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई समाचार स्रोत खुलाउन दबाब दिने, धम्क्याउने तथा धरपकडको तयारी भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक र अलोकतान्त्रिक भएको उल्लेख गरिएको छ ।

प्रेस चौतारीले सञ्चारमाध्यम तथा पत्रकारमाथि राज्य शक्तिको आडमा प्रतिशोध र दबाब सिर्जना गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको ठहर गरेको छ ।

विज्ञप्तिमा पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपबारे निष्पक्ष छानबिनको माग गरिरहेकै अवस्थामा उल्टै निगरानी र मानसिक दबाब बढाइएको भन्दै सरकारको व्यवहारप्रति प्रश्नसमेत उठाइएको छ ।

चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधिविरुद्ध सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ ।

साथै घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ । संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि हुने धाकधम्की, प्रतिशोध तथा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।