काठमाडौं, जेठ ११। नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ माथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिबाट धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यस्तो व्यवहार झेल्नुपरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिने गतिविधि बढिरहेको जानकारी श्रेष्ठले महासंघलाई गराउनु भएकाे छ ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहनु भएका श्रेष्ठमाथि समाचार लेखेकै आधारमा भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ । महासंघले यस्ता गतिविधिको निन्दा गर्दै प्रेस विरोधी व्यवहार तत्काल सच्याउन माग गरेको छ ।
महासंघले समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपाल मार्फत समाधान खोज्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारकर्मीमाथि हुने दबाब तथा हस्तक्षेप बन्द गर्न आग्रह गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्