जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १५:५७

संसदमा हुकुमी शासन, सभामुखको आदेशबिनै मर्यादापालकले बैठक कक्षबाट निकाले सांसद


काठमाडौं, जेठ १२ । प्रतिनिधिसभा बैठकमा हुकुमी शैली देखिएको छ । सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै मर्यादापालकहरूले प्रतिनिधिसभा बैठक कक्षबाट एक जना सांसदलाई बाहिर निकालेपछि यो रास्वपाको मनभित्र रहेको हुकुमी शासनशैली उजागर भएको हो ।

कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सांसदलाई बैठक कक्षबाट बाहिर लगेका हुन्। ‘मलाई बैठकमा फोटो खिच्न हुँदैन भन्ने थाहा थिएन। बाहिर लगेर फोटो डिलिट गर्नुस् भने, मैले ठिकै छ भनेर डिलिट गरेँ, अनि भित्र आएँ,’ सांसद सेन्दाङले भन्नुभयो ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो र भिडिओ खिच्न पाउँदैनन्। तर प्रतिनिधिसभामा सांसदहरूलाई मर्यादा सिकाउने काम दौरा सुरूवाल लगाएर बैठकमा खटिने प्रहरी अर्थात् मर्यादापालकको होइन। उनीहरूले सभामुखको आदेश बेगर कुनै पनि गतिविधि गर्न पाउँदैनन्।

तर सभामुख डोलप्रसाद अर्यालले सांसद सेन्दाङलाई फोटो नखिच्न कुनै रूलिङ गरेका थिएनन्। प्रतिनिधि सभा बैठकको सभामुखले मर्यादापालकलाई सांसदको फोटो हटाउन रुलिङ गरेको रेकर्ड भएको छैन। सभामुखले सांसदहरूलाई सुरूमा सचेत गराउने र सचेत गराउँदा नमानेमा मात्र बैठक कक्षबाट बाहिर निस्कन आदेश दिन सक्छन्।

प्रतिनिधिसभा नियमावलीको नियम ३१ मा सभामुखको आदेश नमानेको अवस्थामा सभामुखले मर्यादापालक लगाएर सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्न सक्छन्।