जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १७:१८

संसदमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिपछि विपक्षी थप आक्रोशित  


काठमाडौं, जेठ १२ ।  रास्वपाका सांसद जगदीश खरेलले प्रतिनिधिसभा बैठकमा दिएको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित बनेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भइरहेको क्रममा सांसद खरेलले विपक्षी दलहरूले संसदलाई ‘तमासा’ बनाएको आरोप लगाउनु भएकाे थियाे ।

उहाँले सरकारले किन ८ वटा अध्यादेश ल्याउनुपरेको रहेछ भन्ने कुरा आफूलाई अहिले आएर महसुस भएको टिप्पणी गर्नुभयाे । संविधान जारी भएपछि निर्माण हुनुपर्ने धेरै ऐन तथा कानूनहरू संसदमा हुने यस्तै अवरोध र तमासाका कारण बन्न नसकेको उहाँको जिकिर थियो ।

पर्यटनसम्बन्धी ऐन नबनेको झण्डै आधा शताब्दी बितिसकेको उल्लेख गर्दै सांसद खरेलले ४८ वर्षदेखि बन्न नसकेको ऐन बनाउन खोज्दा एउटा प्रधानमन्त्री आउने वा नआउने विषयमा हलो अड्काउन नमिल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘संसद विपक्षीहरूले अवरोध गर्ने थलो त हो, तर कानून बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु ।’

सांसद खरेलले सदनबाट कानून बनाउने प्रक्रियालाई कसैले रोक्न नसक्ने पनि बताउनुभयाे । खरेलको अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप आक्रोशित बनेपछि सभामुख  डाेलप्रसाद अर्यालले छलफल बीचमै रोकेर बैठक स्थगित गर्नु भएकाे थियाे ।

प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले मंगलबार पनि कार्यसूची प्रवेशमै अवरोध जारी राखेका छन् । १५ मिनेटका लागि स्थगित भएकाे बैठक पुन सुरु भए पनि विपक्षिले अवराेध गरेका थिए ।