जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १७:३८

संसदमा प्रश्न : प्रधानमन्त्रीलाई जवाफदेही बनाउन खोज्नु तमासा हो ? निलाे स्काप लगाएर संसदमा विराेध जनाउनु तमासा थिएन ?  


काठमाडौं, जेठ १२ । नेपाल कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएकाे छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले खरेलले अपमानजनक र असंसदीय शब्द प्रयोग गरेको बताउनुभयाे । प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ भनेर माग गर्नु ‘तमासा’ नभएको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयाे, ‘प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्नु तमासा देखाएको हुन्छ?’

सांसद मल्लले विगतका घटनाक्रम सम्झाउँदै रास्वपाकै सांसदहरूले पनि विरोधका कार्यक्रम गरेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अस्ति भरखरका घटनाक्रम हामीले बिर्सेका छैनौँ, सभामुखको वेल अगाडि निलो स्काफ लगाएर विरोध गरिरहेको र सदन छाडेर हिँडेको हामीले पनि देखेका थियौँ, कि त्यो पनि तमासा देखाएकै थियो ?’

सांसद मल्लले सांसद खरेलले प्रयोग गरेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गर्नुभयाे ।

उहाँले बाेले लगत्तै नियमापत्ति जनाएर  प्रतिवाद गर्दै खरेलले आफूले बाेलेका शब्द आपत्तिजनक भएकाे दलिल गर्नुभयाे ।