जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १७:४८

सभामुखले विपक्षीको भावना कुल्चिनुभयो, संसदलाई सरकारकाे भजन गाउने थलाे बनाइयाे : पद्मा अर्याल


काठमाडौं, जेठ १२ । नेकपा एमालेकी सांसद  पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिलाई इमानदारितापूर्वक कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा हुनुपर्ने भए पनि त्यसअनुसार व्यवहार नभएको टिप्पणी गर्नुभयो ।

विपक्षी सांसदहरूले उठाइरहेका आवाजलाई बेवास्ता गरिएको महसुस भएको उल्लेख गर्दै उहाँले सभामुखले विपक्षीको भावनालाई कुल्चिएको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रतिपक्षी सांसदहरूले बोलेपछि सत्तापक्षबाट पटक–पटक ललकार्ने प्रवृत्ति देखिएको छ ।’

उहाँले संसद् प्रतिपक्षीको आवाज उठाउने थलो भएको बताउनुभयो । संसद् सरकारको प्रशंसा मात्रै गर्ने थलो नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘ संसद् सरकारको भजन गाउने थालो मात्रै होइन’, उहाँले भन्नुभयो ।

सरकारसँग जवाफ माग्ने, आफ्नो कुरा राख्ने र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने काम प्रतिपक्षको कर्तव्य भएको बताउँदै उहाँले आफूहरूले सो कर्तव्य निर्वाह गरिरहेको बताउनुभयो ।