जनता टाइम्स

१३ जेष्ठ २०८३, बुधबार २२:०६

सरकारी विज्ञापन वितरणको निर्णयविरुद्ध जेठ १४ मा ‘कालो’ पाेत्न सञ्चारमाध्यमलाई नेपाल महासंघको आह्वान


काठमाडौं, जेठ १३ । नेपाल पत्रकार महासंघले सरकारले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने अभ्यास बढाएको आरोप लगाउँदै जेठ १४ गते सम्पादकीय वा अन्य उपयुक्त स्थानमा ‘कालो’ राखेर ऐक्यबद्धता जनाउन देशभरका सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सरकारले पत्रकारमाथि निगरानी राख्ने, त्रास सिर्जना गर्ने, समाचार संकलनमा अवरोध गर्ने तथा श्रमजीवी पत्रकारको श्रमअधिकार संरक्षण नगरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा खर्च कटौतीको बहानामा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ले २०८२ चैत १८ गते गरेको निर्णयलाई ‘स्वेच्छाचारी र विभेदकारी’ भनिएको छ । उक्त निर्णयका कारण सामुदायिक तथा निजी सञ्चारमाध्यमको दीगोपन र श्रमजीवी पत्रकारको पेसागत सुरक्षामाथि गम्भीर असर परेको महासंघको भनाइ छ ।

उक्त निर्णय खारेज गर्न माग गर्दै महासंघले चरणबद्ध दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको जनाएको छ । सोही अभियानअन्तर्गत जेठ १४ गते सञ्चारमाध्यममा कालो राख्ने कार्यक्रम तय गरिएको महासंघले स्पष्ट पारेको छ ।

यसअघि सञ्चालन गरिएका दबाबमूलक कार्यक्रममा साथ र समर्थन गर्ने सञ्चारमाध्यमप्रति महासंघले आभारसमेत व्यक्त गरेको छ ।