जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार ०८:५०

गणतन्त्र दिवसमा रामेछापमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर


रामेछाप, जेठ १४ । गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

गणतन्त्र दिवस जिल्लास्तरीय समिति रामेछापको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।

यसैबीच, गणतन्त्र दिवसकै अवसरमा रामेछाप जिल्ला अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेडक्रस सोसाइटी रामेछापको सहकार्यमा जिल्ला अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

अस्पतालका अनुसार शिविरमा विभिन्न नसर्ने रोगहरूको निःशुल्क परीक्षण गरिनेछ । आयोजकले स्थानीय नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा आयोजित यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमले नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवाको भावना समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।