जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार १८:०७

प्रधानमन्त्रीको भूमिकाप्रति कांग्रेस असन्तुष्ट, संसद् र गणतन्त्र दिवस समारोहप्रति गैरजिम्मेवार बनेको निष्कर्ष


काठमाडौं, जेठ १४ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह संसद् र जनताप्रति उत्तरदायी बन्न नसकेको निष्कर्ष निकालेको छ। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री शाह बहुमतको बलमा अघि बढ्न खोजेको तथा संसदीय अभ्यासलाई बेवास्ता गरेको ठहर गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएको तथा गणतन्त्र दिवस समारोहमा सम्बोधन नगरेको विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। ‘हिजोको अभ्यास हो, उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो,’ थापाले भन्नुभयो, ‘अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

बैठकमा जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि पनि छलफल भएको थियो। कांग्रेसले उक्त प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । ‘कानुनभन्दा माथि कोही पनि हुँदैन, कांग्रेसले कानुनसम्मत हुने प्रक्रियालाई स्वीकार गर्छ,’ थापाले भन्नुभयो।

यसअघि कार्की आयोगको प्रतिवेदनलाई लिएर सरकारले ‘मिडिया स्टन्ट’ गरेको कांग्रेसको आरोप छ। कांग्रेसले तथ्य र प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको छ। ‘पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्टभन्दा पनि सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ,’ थापाले भन्नुभयो, ‘यदि प्रतिवेदनमा उल्लेख भएका कुराहरू सत्य हुन् भने यसलाई अगाडि बढाउनुपर्छ, यसमा हाम्रो पूर्ण समर्थन रहनेछ।’

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल भएको थियो। कांग्रेसले सरकारले बहुमतको आडमा निर्णय लाद्न खोजेको निष्कर्ष निकालेको जनाएको छ।