जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार २०:२२

राजदूतका लागि खुल्ला दरखास्त आह्वान, क-कस्ले दिन पाउँछन आवेदन ?


काठमाडौं, जेठ १४ । बालेन साह नेतृत्वको सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि दरखास्त आह्वान गरेको छ । सरकारले पहिलोपटक खुल्ला रुपमा दरखास्त आह्वान गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार आगामी जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । मन्त्रालय दरखास्तका लागि चाहिने योग्यता र कार्य क्षेत्रसहितको निर्देशिका पनि सार्वजनिक गरेको छ ।राजदूत हुनका लागि कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ भने माथिल्लो उमेर हद खुलाइएको छैन ।

यस्तै विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यतामा प्लस मन्त्रालयको सूचनामा उल्लेख छ । परराष्ट्र मन्त्रालयका अनुसार दरखास्तहरूलाई परराष्ट्र मन्त्रालय स्क्रिनिङ गरी मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले योग्यताअनुसार राजदूतको सिफारिस गर्नेछ । उक्त सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । राजदूतहरूले नियुक्तिपछि परराष्ट्र मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरी कार्याक्षेत्रमा जानुपर्नेछ ।

मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम मन्त्रालयले बिहीबार यो दरखास्त आह्वान गरेको हो ।

यस्ता छन् योग्यता र सर्त

निर्देशिकाको दफा ३ (छ) अनुसार राजदूत बन्नका लागि उम्मेदवारले निम्न न्यूनतम योग्यताहरू पूरा गरेको हुनुपर्नेछ ।

कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने ।

नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने ।

भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने ।

कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने ।

नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्ने ।

प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने ।

यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने ।

यसका साथै, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, र प्रस्तावित देशको भाषा जानेका उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

यसरी दिन सकिने छ आवेदन

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयमा उपलब्ध तोकिएको फारम भरी आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत पेस गर्न सक्नेछन् ।