जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार २०:२२

मानव अधिकार आयोग पनि  शक्तिसँग  डरायो : शङ्कर पोखरेल


काठमाडौं, जेठ १४ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानव अधिकार आयोगको भदौ २३ र २४ का घटनाको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसमा शक्तिकेन्द्रसँग डराएको वा झुकेको आभास देखिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मानव अधिकार आयोगको प्रतिवेदन ‘कार्की आयोग’को प्रतिवेदनभन्दा केही विस्तृत भए पनि अझै अपूर्ण रहेको उल्लेख गर्नुभएको हो । महासचिव पोखरेलले ‘शक्तिसँग डराएको/झुकेको आभाष हुने मानव अधिकार आयोगको प्रतिवेदन’ भन्दै आयोगको निष्पक्षता र पूर्णतामाथि प्रश्न उठाउनुभएको छ । उहाँले प्रतिवेदनमा आवश्यक गहिराइ र सत्य तथ्यको पूर्ण समेटाइ हुन नसकेको बताउनुभएको छ ।

उहाँले मानव अधिकार आयोगको प्रतिवेदन ‘कार्की आयोगभन्दा केही विस्तृत तर अपूर्ण’ भन्दै छानबिन आयोगका प्रतिवेदनसँग तुलना समेत गर्नुभएको छ । आयोगले घटनाका सबै आयामलाई समेट्न नसकेको उहाँको बुझाइ रहेको देखिन्छ । खास गरी भदौ २३ र २४ काे विध्वंस मच्चाउन युवालाई उचाल्ने वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र साह बालेनकाे बारेमा आयोगको प्रतिवेदनले नबोलेको प्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ ।

महासचिव पोखरेलले ‘डर त सबैलाई लाग्ने रैछ’ भन्ने टिप्पणी गर्दै राज्यका संवेदनशील विषयमा काम गर्ने निकायहरूमा समेत दबाब र प्रभावको अवस्था रहेको सङ्केत गर्नुभएको छ ।