जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार ०९:१७

गणतन्त्रलाई आन्तरिक चुनौतीबाट पनि जोखिम हुन सक्छ : प्रदीप ज्ञवाली


काठमाडौं, जेठ १५ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र स्थापना नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणाम भएको उल्लेख गर्दै यसको रक्षा र सुदृढीकरणका लागि निरन्तर सुधार, आत्मसमीक्षा र जनअपेक्षाको सम्बोधन आवश्यक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले संवैधानिक राजतन्त्र र लोकतन्त्रलाई सँगसँगै लैजाने पटक–पटकका प्रयास असफल भएपछि तथा राजाहरूबाट लोकतन्त्रमाथि बारम्बार आक्रमण भएपछि २०६२/६३ को जनआन्दोलनको भावना र मर्मअनुसार संविधानसभाको अत्यधिक बहुमतबाट २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको स्मरण गर्नुभएको हो । ‘नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्ष र २०६२/६३ को आन्दोलनको भावना तथा मर्ममाथि आधारित भएर संविधानसभाको अत्यधिक बहुमतबाट गणतन्त्र स्थापना गरिएको थियो,’ उहाँले सन्देशमा भन्नुभएको छ ।

उहाँले उक्त ऐतिहासिक क्षणको ‘साक्षी र कर्ता’ हुन पाएकोमा व्यक्तिगत रूपमा गर्व महसुस गरेको उल्लेख गर्नुभएको छ ।

विगत १८ वर्षमा नेपालले पूर्वाधार निर्माण, सामाजिक विकास, सामाजिक न्याय र समावेशिताका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै उहाँले सुशासन, रोजगारी सिर्जना र प्रणाली निर्माणमा भने कमजोरी रहेको स्वीकार गर्नुभएको छ । ‘सुशासन, रोजगारी सिर्जना र प्रणाली निर्माणका क्षेत्रमा गम्भीर कमजोरी रहन गएका छन्,’ उहाँले उल्लेख गर्नुभएको छ, ‘राजनीतिक नेतृत्वबाट अपेक्षित गणतान्त्रिक संस्कार निर्माणमा कमी हुँदा गणतन्त्रप्रति जनताको अपनत्व र भरोसा अपेक्षाअनुसार बलियो बन्न सकेको छैन ।’

उहाँले यही अवस्थाको फाइदा उठाउँदै बेला–बेलामा ‘राजा फर्काउने’ पश्चगामी प्रयास हुने गरेको टिप्पणी गर्नुभएको छ । ‘यही “ग्याप” मा खेल्दै बेलामौकामा “राजा फर्काउने” निरर्थक र पश्चगामी प्रयास समेत हुने गरेका छन्,’ उहाँले भन्नुभएको छ ।

ज्ञवालीले जनतासँगको अविच्छिन्न सम्बन्ध, जनअपेक्षाको सम्बोधन र स्वामित्वबोध नै लोकतान्त्रिक प्रणालीको अस्तित्व र विकासको आधार भएको बताउनुभएको छ । ‘लोकतान्त्रिक प्रणालीहरू साधन हुन्, साध्य त जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धि नै हो,’ उहाँले उल्लेख गर्नुभएको छ ।

गणतन्त्रमाथि बाह्य मात्र होइन, आन्तरिक चुनौती पनि उत्पन्न हुन सक्ने चेतावनी दिँदै उहाँले दायित्व पूरा गर्न नसकिए प्रणाली नै जोखिममा पर्न सक्ने बताउनुभएको छ । ‘त्यो दायित्व पूरा गर्न सकिएन भने बाह्य आक्रमणबाट मात्र होइन, गणतन्त्रलाई आन्तरिक चुनौतीबाट पनि जोखिम पैदा हुन सक्छ,’ उहाँले भन्नुभएको छ ।

उहाँले व्यक्तिका कमजोरीको शिकार संस्था र संस्थाको कमजोरीको शिकार राज्य प्रणाली बन्न नदिन निरन्तर सुधार, परिष्करण र आत्मसमीक्षा आवश्यक हुने धारणा राख्नुभएको छ ।

उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाको अभियानमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीद, घाइते, योद्धा, राजनीतिक नेतृत्व तथा परिवर्तनका संवाहक नेपाली जनताप्रति उच्च सम्मान पनि व्यक्त गर्नुभएको छ ।