जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार २१:००

सुनिने बजेट र देखिने बजेट फरक, बजेटले मुलुकको यथार्थ अवस्थालाई स्वीकारेन :  शंकर पोखरेल


काठमाडौ‌ं, जेठ १५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट भाषण र वास्तविक प्राथमिकताबिच ठूलो अन्तर रहेको बताउनुभएकाे छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले बजेटमा ‘विकास’ र ‘समृद्धि’का ठूला नारा सुनिए पनि व्यवहारमा विकास निर्माणका आयोजनाहरूलाई विगतभन्दा कम प्राथमिकता दिइएको बताउनुभयाे । उहाँले साधारण खर्च कटौतीको घोषणा गरिए पनि व्यवहारमा खर्च वृद्धि गरिएको टिप्पणी गर्नुभयो।

महासचिव पोखरेलले ‘जेञ्जी विद्रोह’को जगमा बनेको भनिएको सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेटसमेत घटाएको भन्दै युवाप्रतिको प्रतिबद्धतामै प्रश्न उठाउनुभयो। विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने वाचा गर्ने सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट कटौती गर्नु विरोधाभासपूर्ण भएको उहाँको भनाइ छ।

उहाँले कृषि तथा वन मन्त्रालयको बजेट घटाइनुले सरकार उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्रभन्दा रेमिट्यान्स आधारित अर्थतन्त्रतर्फ नै उन्मुख रहेको सन्देश दिएको दाबी गर्नुभयो। ‘भाषणमा नारा र सपना धेरै सुनिए, तर बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहनभन्दा परनिर्भरतालाई बढी प्राथमिकता दिएको देखियो,’ उहाँले उल्लेख गर्नुभएको छ।

पोखरेलले करका दर निर्धारण र राजस्व संकलन लक्ष्यबीच कुनै सन्तुलन नरहेको पनि टिप्पणी गर्नुभयो। उहाँका अनुसार बजेटले मुलुकको यथार्थ अवस्थालाई स्वीकार गर्न सकेको छैन।

भदौ २३ र २४ मा भएको विध्वंसपछि उत्पन्न असुरक्षा र भयलाई सम्बोधन गर्नुपर्ने बेला गृहमन्त्रालयको बजेटसमेत कटौती गरिएको भन्दै उहाँले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनुभयो। ‘शान्तिसुरक्षाको अभावमा न लगानी प्रवर्द्धन हुन्छ, न रोजगारी सिर्जना नै,’ उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले बजेट भाषणमा प्रस्तुत गरिएका सपना र प्रतिबद्धता व्यवहारमा पनि लागू भएको भए देशका लागि सकारात्मक हुने टिप्पणी गर्नुभएको छ।