जनता टाइम्स

१६ जेष्ठ २०८३, शनिबार १६:३९

रास्वपाको सुनामीले आत्तिनु पर्दैन, सेना र निर्वाचन आयोगको भूमिकाकाे पनि पोल खुल्छ : माधव नेपाल


काठमाडौं, जेठ १६ । नेकपाका सहसंयोजक माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई ‘सुनामी’को संज्ञा दिनुभएको छ ।

पार्टीनिकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी पङ्क्तिलाई रक्षात्मक मानसिकताबाट बाहिर निस्कन आग्रह गर्नुभयो । उहाँले फागुन २१ को निर्वाचनपछि पार्टीका केही नेता–कार्यकर्ता अनावश्यक रूपमा रक्षात्मक बनेको आफूले महसुस गरेको बताउनुभयो ।‘हाम्रा साथीहरू कता–कता डिफेन्सिभ भएको म देख्छु, विरोधीहरू आक्रामक छन्, हामीहरू चाहिँ टाउको लुकाएर भाग्नुपर्ने स्थिति छ जस्तो व्यवहार भइरहेको छ, भाग्न आवश्यक छैन’, उहाँले भन्नुभयो ।

उहाँले रास्वपाको सुनामीका पछाडिका कारणहरूको खोजी भइरहेको बताउनुभयो । उहाँले एक दिन सबै कुराको पोल खुल्ने दाबी गर्नुभयो ।  ‘बेला–बेलामा पोल खोल्दिन्छु भन्ने आवाजहरू त्यहीँ भित्रबाट सुनिन्छन्’, उहाँले भन्नुभयो ।

उहाँले रास्वपाको पक्षमा देखिएको जनलहरका पछाडि रहेका कारणहरू क्रमशः सार्वजनिक हुँदै जाने दाबी पनि गर्नुभयो । सेना, सरकार र निर्वाचन आयोगको भूमिकाबारे समेत समय क्रममा थप तथ्य बाहिर आउने उहाँको भनाइ थियो ।‘य समा आत्तिनुपर्ने कुनै आवश्यकता छैन’, उहाँले भन्नुभयो ।

नेपालले २०६४ सालमा माओवादीको पक्षमा चलेको हावा सम्झन आग्रह गर्दै माओवादी पार्टी झण्डै बहुमतको अवस्थामा पुगेको स्मरण गराउनुभयो ।  २०७४ सालमा एमाले एक्लैले बहुमत नजिकको मत प्राप्त गरेर माओवादीसँग मिल्दा झण्डै दुई तिहाइको हैसियत बनाएको पनि उहाँले सम्झाउनुभयो । ‘त्यो पनि टिकेन, त्यसैले अब त सबै सकियो भनेर निराश हुनुपर्ने अवस्था छैन’, नेपालले भन्नुभयो ।

नेपालले वर्तमान सरकारप्रति जनताको आशा र भरोसा क्रमशः कमजोर हुँदै गएको टिप्पणी गर्नुभयो । विशेष गरी सुकुम्वासी बस्तीमाथि सरकारले गरेको व्यवहारको आलोचना गर्दै उहाँले मानवीय संवेदनशीलता र कानुनी प्रक्रियाको बेवास्ता गरिएको

‘सुरुकै दिनदेखि सरकार बताउनुभयो । ‘ सरकारले सुकुम्वासीहरूमाथि जुन व्यवहार गर्‍यो, त्यसले धेरै परिवारको बिजोग बनाइदियो, न कुनै सूचना, न समय, न वैकल्पिक व्यवस्थाको सुनिश्चितता, वैकल्पिक व्यवस्था गर्ने अवसरसमेत नदिई आक्रमण शैलीमा डोजर चलाइयो, यस्तो व्यवहार कुनै सभ्य समाजले स्वीकार गर्न सक्दैन’, उहाँले भन्नुभयो ।

उहाँले पार्टी कार्यकर्तालाई सरकारका कमजोरी र गलत कामबारे जनतामाझ सक्रिय रूपमा जानकारी गराउन निर्देशनसमेत दिनुभयो । नेपालले राजनीतिक इतिहासमा जनमतको उतारचढाव स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै कुनै एक निर्वाचन परिणामलाई अन्तिम सत्यका रूपमा नलिन पार्टी पङ्क्तिलाई आग्रह गर्नुभयो । उहाँले पार्टी आत्मविश्वासका साथ अघि बढी जनतामाझ निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।