जनता टाइम्स

१६ जेष्ठ २०८३, शनिबार १७:१५

निर्वाचन परिणाम निकै शङ्कास्पद छ, एक दिन पोल खुल्छ : माधव नेपाल


काठमाडौं, जेठ १६ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले निर्वाचन निष्पक्ष नभएको भन्दै कडा प्रश्न उठाउनु भएको हो ।

‘प्रतिनिधि सभाको निर्वाचन परिणाम निकै शङ्कास्पद छ, एक दिन पोल खुल्छ, निर्वाचन आयोगले नै पोल खोल्छ,’ नेपालले भन्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाइ नजिकको सिटलाई एउटा अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै यसका पछाडि रहेका भित्री कारणहरूको खोजी भइरहेको जानकारी पनि दिनुभयो । निर्वाचनका दौरान राज्यका प्रमुख अङ्गहरूको भूमिकालाई लिएर विभिन्न प्रश्नहरू उठिरहेको भन्दै नेपालले के के बदमासी भए भन्ने कुुरा चाँडै उजागर हुने बताउनु भयो ।

निर्वाचनमा नेपाली सेनाको भूमिका कस्तो रह्यो, सरकारले कस्तो कदम चाल्यो, निर्वाचन आयोगको कार्यशैली कस्तो थियो र मतपत्रको अवस्था कस्तो बनाइयो भन्ने विषयहरू शङ्काको घेरामा रहेको नेपालको भनाई थियो । पार्टीभित्रकै मान्छेहरूले कतिपय कुराको पोल खोल्ने चेतावनी दिइरहेको सन्दर्भ जोड्दै नेपालले थप्नुभयो, ‘यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने नै छ ।’ यी सबै विषयहरू भविष्यमा स्पष्ट हुने भन्दै नेपालले निर्वाचन परिणाम प्राकृतिक नभएको सङ्केत गर्नुभयो ।

यस्तै नेपालले निर्वाचनको पछिल्लो परिणामबाट आफ्ना नेता तथा कार्यकर्ताहरू कताकता डिफेन्सिभ अर्थात् रक्षात्मक भएको महसुस गरेको बताउँदै कसैलाई पनि विचलित नहुन आग्रह गर्नुभयो । विपक्षीहरू आक्रामक देखिँदैमा आफ्ना साथीहरू टाउको लुकाएर भाग्नुपर्ने वा कमजोर हुनुपर्ने स्थिति नरहेको नेता नेपालको भनाई छ ।