जनता टाइम्स

१६ जेष्ठ २०८३, शनिबार २१:२८

एमाले महासचिव शङ्कर पोखरेलको सरकारसँग माग : विद्युत् भ्याट फिर्ता गर, जनताको हितमा निर्णय गर र स्वदेशी ऊर्जाको सम्मान गर 


काठमाडौं, जेठ १६ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गर्नुभएको छ। उहाँले यस्तो निर्णयले स्वदेशी ऊर्जा उपभोगलाई निरुत्साहित गर्ने र जनतामाथि अनावश्यक आर्थिक भार थप्ने बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकारले ऊर्जा क्षेत्रको विकास र उपयोगको सन्दर्भमा ‘उल्टो बाटो’ समातेको बताउनुभयो । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ, आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?’ उहाँले प्रश्न गर्नुभएको छ।

नेपाल जलस्रोतको हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै उहाँले स्वदेशी विद्युत् उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा सरकारले उल्टै उपभोक्तामाथि करको भार थपेको बताउनुभयो। ‘नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम हो,’ पोखरेलले उल्लेख गर्नुभएको छ।

उहाँले पेट्रोलियम पदार्थको आयात घटाउने र हरित ऊर्जाको प्रयोग बढाउनेतर्फ राज्यले प्रोत्साहन गर्नुपर्ने अवस्थामा सरकारले विद्युतीय सवारीसाधन प्रयोगकर्तामाथि समेत थप करको भार थोपरेको बताउनुभयो । ‘पेट्रोलियम प्रोडक्टको अभाव र मूल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्द्धन गर्नुपर्नेमा विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहित गर्ने गरी करको भार थोपर्ने काम बजेटमार्फत गरिएको छ,’ उहाँले भन्नुभएको छ।

महासचिव पोखरेलले राजस्व वृद्धि गर्ने नाममा सरकारले जनविरोधी निर्णय गर्न नहुने बताउनुभयो। यदि बजेटको आकार बढाउन आयस्रोत देखाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो भने सरकारले तत्काल सच्याउनुपर्ने उहाँको भनाइ छ। ‘यदि बजेटको आकार बढाउने नाममा आयस्रोत देखाउन यस्तो निर्णय हुन पुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनुपर्छ,’ उहाँले लेख्नुभएको छ।

सरकारले आफैँ उत्पादन तथा बिक्री गरेको विद्युत्को खपत बढ्दा त्यसलाई कर लगाएर निरुत्साहित गर्नुको सट्टा आयात प्रतिस्थापन र उत्पादनमूलक क्षेत्रमा प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने पोखरेलको धारणा छ।‘सरकार आफैँले नाफा लिएर बिक्री गरेको विद्युत् खपत वृद्धि हुँदा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्छ,’ उहाँले बताउनुभएको छ।

उहाँले सरकारसँग विद्युतमा गाइएको भ्याट फिर्ता लिन, जनताको हितमा निर्णय गर्न र स्वदेशी ऊर्जाको सम्मान गर्न आग्रह गर्नुभएको छ।आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् उपभोग र विद्युतीय सवारीसाधनसँग सम्बन्धित करका व्यवस्थामाथि विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला एमाले महासचिव पोखरेलको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दलको औपचारिक धारणा रूपमा हेरिएको छ।

पोखरेलले सामाजिक सञ्जालमार्फत ‘विद्युत् भ्याट फिर्ता गर, जनताको हितमा निर्णय गर र स्वदेशी ऊर्जाको सम्मान गर’ भन्ने सन्देशसमेत सार्वजनिक गर्नुभएको छ।