जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार ०७:५६

सहयोग आह्वान गरेर पुल, पार्क, बाटो र खानेपानी जोडेका छौँ, दोषी नेता जोगाउन पैसा उठाएका होइनौँ : हर्क साम्पाङ


काठमाडौं, जेठ १७ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले जनसहभागितामार्फत झोलुङ्गे पुल, पार्क, सडक तथा खानेपानीजस्ता संरचना निर्माण गरेको दाबी गर्दै त्यसको आलोचना गर्नेहरूलाई कडा जवाफ दिनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साम्पाङले सहयोग सङ्कलन अभियानको विरोध गर्नेहरूलाई लक्षित गर्दै आफ्नो पार्टीले उठाएको रकम जनहितका पूर्वाधार निर्माणमा खर्च गरिएको बताउनुभएको हो। ‘धेरै क्युआर/क्युआर नभन, हामीले सहयोग आह्वान गरेर पुल, पार्क, बाटो, खानेपानी जोडेका छौँ,’ उहाँले लेख्नुभएको छ।

उहाँले आफ्नो अभियानलाई रास्वपाका कार्यकर्ताले गलत ढंगले चित्रण गर्न खोजेको आरोप पनि लगाउनुभएको छ। आफ्नो पार्टीले सङ्कलन गरेको सहयोग रकम विकास निर्माणमा प्रयोग गरिएको उल्लेख गर्दै उहाँले रास्वपा र तिनका समर्थकहरूले भने रकम सङ्कलन गरेर सहकारी ठग्ने आफ्ना नेताको बचाउ गर्ने काम गरेको आरोप लगाउनुभएको छ। ‘तिमीहरूजस्तो क्युआरमा पैसा उठाएर आफ्नो दोषी नेतालाई निकाल्ने अनि विदेशी ऋण जनतालाई बोकाएर सहकारी ठगलाई जोगाउने गरेको होइन,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

अध्यक्ष साम्पाङको यो प्रतिक्रिया पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको बहसपछि आएको हो। श्रम संस्कृति पार्टीले विभिन्न विकास निर्माणका कामका लागि सार्वजनिक रूपमा सहयोग सङ्कलन गर्दै आएको छ। विशेषगरी धरान क्षेत्रमा खानेपानी आयोजना, सडक, पार्क तथा सुदूर पश्चिममा झोलुङ्गे पुल निर्माणका लागि सहयोग अभियान सञ्चालन गरिँदै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकहरूले सामाजिक सञ्जालमा साम्पाङको सहयोग सङ्कलन अभियानको आलोचना गर्दै आएका थिए। त्यसको जवाफस्वरूप साम्पाङले उक्त धारणा सार्वजनिक गर्नुभएको हाे ।

उहाँले अर्काे स्ट्याटसमा लेख्नु भएकाे छ, ‘सहकारी ठगहरुले ठगेका अरबौँ रुपैयाँ तिर्न राज्यमा जनताले खाइ-नखाई तिरेको कर-राजस्वबाट तिर्नुले नै रास्वपा सरकारको असली चरित्र बाहिरिएको छ !’

साम्पाङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया देखिएको छ। कतिपयले उहाँले जनसहभागितामार्फत विकास निर्माणलाई प्राथमिकता दिएको भन्दै समर्थन जनाएका छन् भने आलोचकहरूले सार्वजनिक पदमा रहेका व्यक्तिको अभिव्यक्ति संयमित हुनुपर्ने बताएका छन्।