जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार ०८:१६

सिंहदरबार प्रकरणको फोटो शेयर गर्नेलाई साइबर ब्युरो पुर्‍याउने रास्वपा नेता गणेश कार्कीको धम्की


काठमाडौं, जेठ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइँदै आएको फोटोबारे अब कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले निर्वाचनअघि देखि नै आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले उक्त फोटो प्रयोग हुँदै आएको बताउनुभएको छ। उहाँले चुनावको समयमा राजनीतिक पूर्वाग्रहका कारण यस्ता सामग्री फैलाइएको भए पनि त्यसबेला उजुरी नगरेको उल्लेख गर्नुभएको छ। ‘चुनाव अगाडिदेखिनै मेरा विरुद्धमा प्रयोग भइरहेको यो फोटो मैले देखिरहेकै फोटो हो, चुनावका बेला मान्छेलाई राजनीति लाग्यो भनेर तथा यस्तो अपराधका बारेमा मान्छे जानकार पनि नहुने अनि उजुरी दिँदा व्यक्तिले निकै दुःख पाउने भएकाले मैले उजुरबाजुर गरिनँ,’ उहाँले लेख्नुभएको छ।

उहाँले देखिस् ओली सिंहदरबार जलाएरै छाड्यौँ भन्ने लेखिएको पाेष्टर उचालेको फोटो सामाजिक सञ्जालमा आइरहेको छ । गत भदौ २४ मा सिंहदरबार जलाए पछि सार्वजनिक भएको सो फोटोलाई कार्कीले नक्कली फोटो भएको बताउँदै आउनु भएको छ ।

कार्कीले आफूले मदिरा तथा चुरोट सेवन नगर्ने भए पनि त्यस्ता वस्तु सेवन गर्ने साथीभाइसँगको संगतका आधारमा कतिपयले गलत निष्कर्ष निकाल्ने गरेको टिप्पणी गर्नुभएको छ। कसैले के भन्ला भनेर नभई स्वास्थ्यका कारण आफूले त्यस्ता वस्तु सेवन नगरेको उहाँको भनाइ छ।

उहाँले सामाजिक सञ्जालमा भाइरल बनाइएको फोटो नक्कली भएको विषय विभिन्न तथ्य परीक्षण संस्थाहरूले समेत पुष्टि गरिसकेको दाबी गर्नुभएको छ। नेपाल फ्याक्ट चेक, अनलाइनखबर र टेकपानालगायत माध्यमहरूले उक्त फोटोको सत्यतथ्य परीक्षण गरी नक्कली भएको निष्कर्ष सार्वजनिक गरिसकेको उहाँले उल्लेख गर्नुभएको छ।

सांसद कार्कीले राष्ट्रिय मानव अधिकार आयोगमा समेत आफ्नो नाम समावेश गरी विभिन्न कोणबाट छानबिन गर्नुपर्ने सुझाव पुगेको प्रसंग उल्लेख गर्दै अनुसन्धानबाट सत्य बाहिर आउनेमा विश्वास व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमा उक्त फोटो अझै पनि फैलाउने व्यक्तिहरूलाई लक्षित गर्दै उहाँले अब कानुनी कारबाहीको बाटो अपनाउने बताउनुभएकाे छ । ‘जसले अब पनि यो फोटो फैलाउँदै छन्, उनीहरूलाई यो फोटो नक्कली हो भन्ने थाहा नभएको हुन सक्ने सम्भावना पनि लगभग छैन,’ उहाँले लेख्नुभएको छ।

उहाँले नक्कली सामग्री प्रसारण वा साझा गर्ने कार्य नरोकिए साइबर ब्युरोमा उजुरी दिने बताउनुभएको छ। ‘नहटाउनेहरूलाई अब भने साइबर ब्युरोमा उजुरी दिनेछु,’ उहाँले धम्की दिनुभएको छ।

कार्कीले कानुनी प्रक्रियाका कारण कसैलाई समस्या परे आफूलाई त्यसबाट खुसी नलाग्ने उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा मात्र उजुरी दिन बाध्य भएको बताउनुभएको छ। ‘तपाईँले यही कारणले दुःख पाउँदा मलाई खुसी लाग्ने छैन, तपाईँले पाउने दुःखका लागि म माफी चाहन्छु, तर अर्को उपाय मसँग बाँकी रहेन,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।