जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार ०८:३९

धुलिखेल अस्पतालले रोक्यो स्वास्थ्य बीमा सेवा


काठमाडौं, जेठ १७ । धुलिखेल अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका अधिकांश सेवा अस्थायी रूपमा स्थगित गरेको छ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बीमा बोर्डको सुविधा थैली कार्यक्रममार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको उल्लेख गरेको छ। तर बोर्डले हालै परिमार्जन गरेको सुविधा थैलीलाई अस्पतालको प्रणालीमा आबद्ध (सिस्टम म्यापिङ) गर्न तथा आवश्यक प्राविधिक तयारी र अभिमुखीकरणका लागि समय लाग्ने भएकाले स्वास्थ्य बीमा सेवामा अस्थायी अवरोध गर्नुपरेको जनाएको छ।

अस्पतालका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिक सेवाको सुविधा आगामी जेठ १८ गते सोमबारदेखि पुनः सञ्चालन हुनेछ। तर नियमित बहिरङ्ग (ओपीडी) तथा अन्तरङ्ग (भर्ना) सेवातर्फको स्वास्थ्य बीमा सुविधा भने असार १ गतेदेखि मात्रै लागू हुनेछ।

यसअघि अर्थात् असार १ गतेअघि नियमित बहिरङ्ग र अन्तरङ्ग सेवामा स्वास्थ्य बीमाको सुविधा उपलब्ध नहुने अस्पतालले स्पष्ट पारेको छ। यद्यपि स्वास्थ्य बीमाबाहेक अस्पतालका अन्य सबै नियमित सेवा भने पूर्ववत् सञ्चालन भइरहेका अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले गुणस्तरीय सेवा सुनिश्चित गर्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज, व्यवस्थित, दिगो र आर्थिक रूपमा सम्भाव्य बनाउन स्वास्थ्य बीमा बोर्डसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। ‘अस्पतालको स्थापित गुणस्तरीय सेवालाई सुनिश्चित गर्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ बढी सहज, व्यवस्थित, दिगो तथा आर्थिक रूपमा सम्भाव्य बनाउनका लागि अस्पताल प्रशासनले स्वास्थ्य बीमा बोर्डसँग निरन्तर समन्वय गरिरहेको छ,’ सूचनामा उल्लेख छ।

अस्पतालले यस अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

धुलिखेल अस्पतालको यो निर्णयसँगै स्वास्थ्य बीमामार्फत नियमित उपचार सेवा लिँदै आएका हजारौं सेवाग्राही प्रत्यक्ष प्रभावित हुने भएका छन्। विशेषगरी काभ्रेपलाञ्चोकसहित वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट स्वास्थ्य बीमाका आधारमा उपचार गराउँदै आएका बिरामीले केही समय वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको छ।