काठमाडौं, जेठ १७ । प्रतिनिधिसभामा सांसदहरूले पटक–पटक उपस्थित भएर जवाफ दिन माग गर्दै आएका प्रधानमन्त्री बालेन्द्र साह आइतबार प्रतिनिधिसभाको बैठकमा अप्रत्याशित रूपमा रोष्ट्रममा पुग्नुभएको छ।
प्रतिनिधिसभा नियमावलीमा सांसदहरुसँग लिखित प्रश्न लिने र प्रधानमन्त्रीले त्यसकाे जवाफ दिने व्यवस्था रहेकाे भए पनि प्रधानमन्त्री साहले अचानक हात उठाएर बोल्ने इच्छा व्यक्त गर्नुभएको थियो। त्यसपछि उहाँले रोष्ट्रममा पुगेर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन चाहेको बताउनुभयाे ।
प्रधानमन्त्री साह रोष्ट्रममा पुग्ने प्रक्रियाले प्रतिनिधिसभाको नियमावली र स्थापित संसदीय अभ्यासको पालना नगरेको भन्दै केही विपक्षी सांसदहरूले तत्काल विरोध जनाउनुभएको थियो। विपक्षी सांसदहरूले प्रधानमन्त्रीलाई बोल्ने अनुमति दिने प्रक्रियाबारे प्रश्न उठाउँदै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो।
केहीबेरको विवादपछि सभामुखले उक्त विषयलाई पछि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गर्ने बताउँदै तत्कालका लागि सांसदहरूलाई प्रश्न राख्न आग्रह गर्नुभएको थियो। सभामुखको आग्रहपछि विभिन्न दलका सांसदहरूले क्रमशः आफ्ना प्रश्नहरू राख्नुभएको थियो।
संसदीय प्रक्रियाको विषयलाई लिएर केही समय अवरोधको अवस्था सिर्जना भए पनि त्यसपछि बैठक नियमित कार्यसूचीअनुसार अगाडि बढेको थियो। प्रधानमन्त्री साहले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रम जारी रहेको थियो।
प्रधानमन्त्रीको रोष्ट्रम प्रवेशको शैली र त्यससम्बन्धी प्रक्रियालाई लिएर प्रतिनिधिसभाभित्र बहस सुरु भएको छ। विपक्षी दलका सांसदहरूले संसदीय नियम र प्रक्रियाको पालना हुनुपर्नेमा जोड दिएका छन् भने सभामुखले यस विषयमा आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताउनुभएको छ।












प्रतिक्रिया दिनुहोस्