काठमाडौं, जेठ १७ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई बोल्ने समय उपलब्ध गराउने प्रक्रियालाई लिएर आइतबार सभामुख र विपक्षी दलका सांसदबिच तीव्र विवाद हुँदा बैठक तनावग्रस्त बनेको छ।
प्रधानमन्त्रीलाई लिखित प्रश्नोत्तरको निर्धारित प्रक्रिया पूरा नगरी बोल्न दिइएको भन्दै विपक्षी दलका सांसदहरूले नियमापत्ति जनाएका थिए। सांसदहरूले संसद्को नियमावली र स्थापित संसदीय अभ्यासको उल्लङ्घन भएको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
त्यस क्रममा सभामुख डीपी अर्यालले सांसदहरूले प्रयोग गरेका शब्द र अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको थियो। उहाँले सांसदहरूलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्नुभएको थियो।
सभामुखको उक्त भनाइपछि विपक्षी दलका सांसदहरूले प्रतिवाद गर्दै सभामुखले पनि निष्पक्ष र संयमित व्यवहार प्रदर्शन गर्नुपर्ने बताएका थिए। त्यसपछि संसदमा होहल्ला भएको थियो।
विवादका क्रममा आशिका तामाङसहित सत्तापक्षका केही सांसदहरू बिना कारण च्याठ्ठिए पछि सदनको माहौल थप तातिएको थियो।
विपक्षी दलका सांसदहरू एकमत भएर प्रक्रियागत प्रश्न उठाएपछि सभामुखले परिस्थितिलाई सहज बनाउने प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँले विपक्षी दलका सांसदहरूलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो।
समय पाएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी लगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई बोल्न दिइएको प्रक्रिया र सभामुखको भूमिकाप्रति आपत्ति जनाउनुभएको थियो। उहाँहरूले संसद्को नियम, प्रक्रिया र परम्पराको सम्मान हुनुपर्नेमा जोड दिनुभएको थियो ।
आइतबारको बैठकमा देखिएको यो घटनाले प्रधानमन्त्रीको सम्बोधन, सभामुखको निर्णय र संसदीय प्रक्रियाको व्याख्यालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबिचको विवादलाई थप चर्काएको छ। सभामुखको आक्रामक शैलीले संसद्लाई थप तनावपूर्ण बनाउने अवस्था देखिएका छ ।













प्रतिक्रिया दिनुहोस्