जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार २१:१८

संसदमा घम्साघम्सीबीच नियमावली पारित, सभामुखको भूमिकामाथि उठ्याे गम्भीर प्रश्न


काठमाडौं, जेठ १७ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्को विवाद र घम्साघम्सी भइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले संसद नियमावली पारित भएको घोषणा गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका तथा बैठकस्थलमा नाराबाजी चलिरहेका बीच सभामुखले कार्यसूची अघि बढाउँदै नियमावलीलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको हो।

संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभएसम्म बैठक सामान्य रूपमा सञ्चालन भएको थियो। उहाँको जवाफपछि सभामुख अर्यालले छलफल समाप्त भएको घोषणा गर्दै संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूलाई संशोधन फिर्ता लिन समय दिनुभएको थियो।

यसक्रममा सांसद नरेन्द्रकुमार केरुङले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गर्नुभएपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यसपछि उहाँले प्रस्तावको पक्षमा हुने सदस्यलाई ‘हुन्छ’ र विपक्षमा रहनेलाई ‘हुन्न’ भन्न आग्रह गर्नुभएको थियो।

निर्णय प्रक्रियालगत्तै प्रतिपक्षी सांसदहरू आफ्नो आसनबाट उठेका थिए। सभामुखले उठ्नुको कारण सोध्नुभएपछि नेपाली कांग्रेसकी सचेतक वासना थापाले प्रतिपक्षको धारणा राख्नुभएको थियो। उहाँले नियमावलीमा दर्ता भएका सबै संशोधन प्रस्तावहरूलाई थप छलफलका लागि विषयगत समितिमा पठाउन माग गर्नुभएको थियो। तर सभामुखले उक्त मागलाई स्वीकार नगरी कार्यसूचीलाई अगाडि बढाउनुभएको थियो। प्रतिपक्षी सांसदहरू पुनः उठेर विरोध जनाइरहेका बेला एमाले सांसद ऐन महरलगायतले बोल्न समय माग्नुभएको भए पनि सभामुखले समय दिनुभएन ।

सभामुख अर्यालले नियमावलीलाई पुनः समितिमा नपठाइने स्पष्ट पार्दै कार्यसूची अगाडि बढाउनुभएको थियो। यद्यपि प्रतिपक्षी सांसदहरूले निरन्तर विरोध जारी राखे ।

केहीबेर सचिवालयका कर्मचारीहरूसँग परामर्श गर्नुभएका सभामुखले कार्यसूची अगाडि बढाउँदै नियमावलीलाई निर्णयार्थ पेश गर्नुभएकाे थियाे । सभामुखको उक्त घोषणापछि प्रतिपक्षी सांसदहरू वेलतर्फ अघि बढेका थिए र बैठकमा हंगामा सुरु भएको थियो। नाराबाजी र होहल्लाका बीच सभामुखले नरेन्द्रकुमार केरुङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो। त्यसपछि अन्य संशोधन प्रस्तावहरू पनि क्रमशः निर्णयार्थ प्रस्तुत गरिएका थिए।

प्रतिपक्षी सांसदहरूको नाराबाजी जारी रहँदा मर्यादापालकहरू वेलअगाडि तैनाथ भएका थिए। होहल्लाकै बीच सभामुखले एकपछि अर्को संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै ती प्रस्तावहरू अस्वीकृत भएको घोषणा गर्नुभयाे ।

स्थिति थप तनावपूर्ण बन्दै गएपछि प्रतिपक्षी सांसदहरू मर्यादापालकसँग समेत धकेलाधकेलमा उत्रिएका थिए। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रकाश परियारले आफ्ना सांसदहरूलाई पनि अगाडि आउन संकेत गर्नुभएको थियो। त्यसपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरू आमनेसामने भएका थिए।

हंगामाकै क्रममा रास्वपाका एक सांसद कुर्सीमाथि चढेका थिए । त्यसले तनाव अझ बढाएकाे थियाे ।

प्रतिपक्षी दलहरूले आफूहरूको मागलाई बेवास्ता गर्दै नियमावली पारित गरिएको आरोप लगाउनुभयाे । सभामुखले भने संसदको कार्यसूचीअनुसार प्रक्रिया अगाडि बढाइएको बताउनुभयाे ।