काठमाडौं, जेठ १७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आज दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले प्रधानमन्त्रीको भूमिकामाथि नै गम्भीर प्रश्न उठाएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिले उहाँ नेपाल राष्ट्रको प्रतिनिधित्व गरिरहनुभएको छ वा अन्य कुनै स्वार्थको भन्ने विषयमा प्रश्न खडा भएको टिप्पणी गर्नुभएको हो। ‘बालेन्द्र साहले आज संसद्मा दिनुभएको अभिव्यक्तिले उहाँले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्नुहुन्छ कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सीमा सम्बन्धी विषयमा धारणा राख्ने क्रममा व्यक्त गर्नुभएको भनाइलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला एमाले महासचिव पोखरेलको प्रतिक्रिया सार्वजनिक भएको हो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान तथा नेपालको स्थापित कूटनीतिक अडानसँग सम्बन्धित प्रश्नहरू उठाएको संकेत गर्नुभएको छ। यद्यपि उहाँले आफ्नो प्रतिक्रियामा थप विस्तृत टिप्पणी गर्नुभएको छैन।
प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत आपत्ति जनाउँदै स्पष्टीकरण माग गरिसकेको छ। यसैबीच सत्तारूढ दलकै नेताहरूले प्रधानमन्त्रीको भनाइको बचाउ गरिरहेका छन् भने विभिन्न राजनीतिक दलका नेताहरूले फरक–फरक प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
सीमा सम्बन्धी विषय नेपालमा सधैं संवेदनशील राष्ट्रिय मुद्दाका रूपमा रहने गरेको छ। यस्तो विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक विवाद चर्किँदै गएको छ।














प्रतिक्रिया दिनुहोस्