काठमाडौं, जेठ १८ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीको केन्द्रीय कार्य समितिद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसदको रोस्टमबाट ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको राष्ट्रिय हित, भौगोलिक अखण्डता र सीमा सम्बन्धी अडानलाई कमजोर बनाउने दाबी गरिएको छ। विज्ञप्तिमा उक्त अभिव्यक्तिले नेपाल–भारत सीमा विवाद, विशेष गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र फिर्ता हुनुपर्छ भन्ने नेपाली जनताको मागलाई ओझेलमा पार्ने तथा नेपालले आफ्ना भूभागमाथिको दाबी कमजोर बनाउने सङ्केत गरेको बताइएको छ ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा र सीमा सम्बन्धी अवस्थाबारे अन्योल सिर्जना गरेको समेत जनाएको छ। पार्टीले नेपालको सीमा सुरक्षा र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार प्रतिबद्ध नरहेको देखिएको भन्दै विरोध जनाएको छ।
विज्ञप्तिमा सरकारले नेपाली सेनालाई सीमा सुरक्षामा प्रभावकारी रूपमा परिचालन नगरेको उल्लेख गरिएको छ। पार्टीले सीमा संरक्षणको विषयमा सरकार गम्भीर हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति घोर आपत्ति र विरोध व्यक्त गरेको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘पूर्व तालिका बिनाको दिन २०८३-२- १७ गते सदनको बैठक बोलाएर २०८३-२-१८ गते रास्वपाको सभापति भारत जानु अघि भारतलाई रिझाउनलाई हो या किन हो कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री सदनमा आएर रोस्टममा उभिएर “नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनुले हाम्रो सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नु पर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनु पर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ ! प्रधानमन्त्रीको पदले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्ने बारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ! नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरिब जनताका बस्ती सुकुम्वासी बस्तीमा हमला गर्नमै सीमित राख्दै आएको नेपाल सरकारले सिमानामा सेनालाई चियाउन समेत नपठाउनु बरु उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरूमा मिचेको भन्नुले हाम्रो सीमा रक्षा र भौगोलिक अखण्डता प्रति प्रधानमन्त्री र यो सरकार प्रतिबद्ध नरहेको प्रति श्रम संस्कृति पार्टी र तमाम नेपाली जनता घोर आपत्ति सहित विरोध व्यक्त गर्दछौँ !’













प्रतिक्रिया दिनुहोस्